Logo
Logo

शेखर गोल्छाले नछाड्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व कुनै पनि हालतमा नछाड्ने निष्कर्षमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पुगेको स्रोतको भनाइ छ । वरिष्ठ उपाध्यक्ष गोल्छालाई अध्यक्ष बन्न नदिने षड्यन्त्र गरेर विधान संशोधनको मुद्दा महासंघभित्र उठाइएको छ । आगामी कात्तिक ३० गते विधान संशोधनका लागि महासंघले विशेष साधारणसभा गर्ने निर्णय गरेको छ ।

उक्त साधारणसभाबाट अध्यक्ष पद प्रत्यक्ष निर्वाचनबाट हुने कुरा पास भएको खण्डमा अध्यक्ष पदका लागि गोल्छा तयारी मनस्थितिमा छन् । कतिपयले भने विधान संशोधन भएको अर्को वर्षको साधारणसभाबाट मात्र त्यसलाई लागू गर्ने र आगामी नेतृत्व पुरानै विधानअनुरुप वरिष्ठ उपाध्यक्षलाई दिनुपर्ने अडानमा छन् । यो कुरामा अध्यक्ष भवानी राणाको समेत सहमति भएको बताइन्छ । यसो गर्दा गोल्छालाई न्याय भएको पनि मानिन्छ । र, अर्कोतिर माडवाडी समुदायलाई महासंघबाट अलग्याउन नखोजेको सन्देश पनि बाहिर जान्छ । तर, चण्डी ढकाल, किशोर प्रधानहरु भने जसरी भए पनि गोल्छालाई नेतृत्वमा पुग्न नदिने रणनीतिमा छन् । त्यसो भएको खण्डमा शेखर गोल्छाविरुद्ध किशोर प्रधान वा चन्द्र ढकाललाई भिडाउने रणनीति छ । यदि यस पटक वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने हो भने शेखर गोल्छा अध्यक्ष, चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष बनाउने भित्री रणनीति भएको बुझिन्छ । गत वर्षको साधारणसभामा गोल्छाबाट प्रधान पराजित भएकोले पनि उनी यसपटक गोल्छासँग बदला लिने मुडमा देखिन्छन् ।

महासंघभित्र भएको यस्तो विवादले महासंघ कमजोर बन्दै गएको छ । सीएनआई, चेम्बरजस्ता संस्था बलियो हुँदै गएको छ । यसप्रति भने महासंघलाइृ कुनै चिन्ता छैन । कहिले उचाल्ने, कहिले पछार्ने काममा महासंघ लागेको छ । विगतमा भवानी राणालाई अध्यक्ष बनाउन गोल्छाले समर्थन गरेका थिए । अहिले त्यो कुरालाई बिर्सिएर गोल्छाविरुद्ध जुन षड्यन्त्र गरिँदैछ, त्यसले मारवाडी समुदाय महासंघबाट अलग्गिने वातावरण बन्दैछ ।

प्रतिक्रिया दिनुहोस्