Logo
Logo

विवाहपछि झन् सहज भएको छ-मल्लिका कार्की, गायिका


- दृष्टि न्युज/संवाददाता


गायिका मल्लिका कार्कीका अधिकांश गीत चर्चित छन् । ‘लाजको लाली’, ‘यति धेरै मान्छेहरुको भीडमा’जस्ता चर्चित गीतकी गायिका मल्लिका मिडियामा भने कम देखिन्छिन् । यु–ट्युब र अनलाइनमा ‘भाइरल’ बन्ने प्रवृति बढिरहेका बेला यी चर्चित गायिका के गर्दैछिन् त ? मल्लिका भन्छिन्, ‘कार्यक्रमै व्यस्त छु ।’ गायक उदितनारायण झासँग ‘लाजको लाली’ गाएर सांगीतिक यात्रामा ‘टर्निङ प्वाइन्ट’ लिएकी मल्लिका देश–विदेशकै कार्यक्रममा व्यस्त छिन् । २०६५ सालमा ‘मल्लिका’ नामक एल्बम ल्याएर सांगीतिक क्षेत्रलाई पेसाका रुपमा अँगालेकी मल्लिकाले हालसम्म ८ सयको हाराहारीमा गीत गाइसकेकी छन् । ‘मल्लिका’पछि एक दशकको अन्तरालमा ‘मौसम’ नामक सोलो एल्बम सार्वजनिक गरेकी मल्लिकाले सांगीतिक कार्यक्रमकै दौरानमा खाडीलगायत युरोप र अमेरिकामा अधिकांश मुलुक टेकिसकेकी छन् । यिनै गायिका मल्लिकासँग एमपी सुब्बाको जम्काभेट :

पछिल्लो समय मिडियामा देखिनुहुन्न । के गर्दै हुनुहुन्छ ?

गीतसंगीत क्षेत्रमै छु । विदेशको कार्यक्रममा व्यस्त भएकाले मिडियामा नदेखिएकी हुँ । एउटा देशमा जाँदा एक÷दुई महिना उतै हराउनुपर्ने हुन्छ । त्यसैले एक÷दुई पटक विदेश जाँदा वर्ष नै जान्छ अनि कसरी यहाँ मिडियामा आउनु ? अर्को कुरा मिडियामा आउनका लागि नयाँ कुरा पनि हुनुप¥यो नि ।

नयाँ दिने नभएरै मिडियामा नआउनु भएको हो ?

त्यस्तो होइन, कार्यक्रम र घरायसी कामले मिडियालाई समय दिन पाइनँ । नयाँ कुुरा त मैले दिएकी छु । हालै ‘मौसम’ मेरो दोस्रो सोलो एल्बम ल्याएकी छु । उक्त एल्बमको ‘लाखौँ छन् मेरा लागि मर्नेहरु’ बोलको गीत यु–ट्युबमा रिलिज गरेकी छु । तर, सोचेजस्तो प्रमोशन गर्न पाएकी छैन ।

घरायसी व्यस्तता भन्नाले कस्तो ?

मैले विवाह गरेकी नि, विवाह गरेपछि घरपरिवारलाई पनि समय दिनुप¥यो । व्यस्तता भनेकै त्यही त हो नि ।

लभ म्यारिज कि मागी विवाह गर्नुभयो ?

लभ भन्ने हो भने त्यस्तो लभ पनि होइन । चिनजान भएको केही समयपछि नै मागी विवाह गरेकी हुँ ।

विवाह अघि र पछि आफूमा के फरक पाउनुभयो ?

मलाई त विवाह पछि झनै सहज महसुश भएको छ । उहाँ (श्रीमान) सांगीतिक क्षेत्रको सम्मान गर्नुहुन्छ । उहाँमात्र नभएर सासु–ससुराले पनि मलाई सर्पोट गर्नुहुन्छ । त्यसैले मलाई देश–विदेशमा कार्यक्रम गर्न सहज भएको छ ।

पहिले ‘यति धेरै मान्छेहरुको भीडमा’ गाउनुभयो । अहिले ‘लाखौँ छन् मेरा लागि मर्नेहरु’, के यी गीत आफ्नो जीवनसँग मेल खान्छ ?

त्यस्तो मेल खाँदैन । मेरो स्वर मन पराउनेहरु लाखौँ छन् । तर, त्यसो भनेर यी गीत गाएकी होइन । कसैको जीवनमा मेल खान्छ भनेर गाएकी हुँ ।

‘लाजको लाली’ हिट भएपछि फर्केर पछाडि हेर्नु परेन होइन त ?

हो, ‘लाजको लाली’ मेरो सांगीतिक करिअरकै ‘टर्निङ प्वाइन्ट’ बन्यो । उक्त गीत उदितनारायण झासँग गाएकी छु । सुरुमा उक्त गीत डमी गाएकी हुँ । तर, मेरै स्वर फाइनल भएको थियो ।

अहिलेसम्म कति गीत गाउनुभयो ?

गन्ती गर्न छाडेँ । त्यस्तै, आठ सयको हाराहारी पुग्यो होला । केही वर्षअघिसम्म एकदिनमै चार वटासम्म गीत रेकर्ड गर्थेँ । चलचित्र, आधुनिक, पप सबै प्रकारका गीत गाउँछु ।

चर्चित गीतका गायिका हुनुहुन्छ । यु–ट्युबरहरुले खोज्दैनन् ?

खोजेपनि समय दिन सकेकी छैन । केही यु–ट्युबरलाई अन्र्तवार्ता दिएकी छु । अन्तर्वार्ता दिनका लागि आफूसँग नयाँ कुरा पनि हुनुपर्छ । अब खोजे भने समय मिलाएर अन्र्तवार्ता दिन्छु ।

पछिल्लो समय यु–ट्युबरको ‘बिगबिगी’ छ, जहाँ ‘भाइरल’ बन्ने प्रवृति छ । यो प्रवृति तपाइँलाई कस्तो लाग्छ ?

यु–ट्युबरहरु आउनु राम्रो कुरा हो । म सबैलाई सम्मान गर्छु । यु–ट्युबले गर्दा गीत प्रमोशनमा सजिलो भएको छ । प्रमोशन खर्च घटेको छ ।

तपाइँले रिमेक गीतहरु पनि गाउनुभएको छ है ?

हो, शम्भुजीत बास्कोटा दाईसँग गाएकी छु । अच्छा लेकिन लण्डनको चिसोले, मुसुमुस हाँसिदेउ, सुन सुन सनम, झ¥यो कृष्ण भीर जस्ता गीतहरु उहाँसँग गाएकी छु । ती गीतले गर्दा नै मलाई विदेशबाट बढी प्रस्ताव आउँछ । दर्शक÷श्रोता ‘ओल्ड इज गोल्ड’ मनपराउँछन् ।

नयाँ योजना के छ ?

दशैँ लाग्दैछ । दशैँका लागि हङकङ र अमेरिकामा कार्यक्रमका लागि कुरा हुँदैछ । म चाहिँ यो दशैँ परिवारसँग मनाउने सोच बनाएकी छु ।

प्रतिक्रिया दिनुहोस्