Logo
Logo

साल्ट ट्रेडिङको दशैँ बजार : सस्तोमा गुणस्तरीय सामान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ । दशैं आउन अब तीन साता पनि बाँकी छैन । बजारमा दशैंको चहलपहल देखिन थालिसकेको छ । चाडपर्वको सपिङ सुरु भइसकेको छ ।

चाडपर्वको बेला महंगीको जोमिख पनि हुन्छ । तर, साल्ट ट्रेडिङ कर्पाेरेसनका कारण यस्तो महंगी नियन्त्रण हुँदै आएको छ । किनकी दशैं, तिहार तथा छठको बेलामा कर्पाेरेसनले नियमित बजार मूल्य भन्दा सस्तोमा खाद्यान्न लगायत उपभोग्य सामान बिक्री गर्दछ ।

यो वर्ष पनि कर्पाेरेसनको सस्तो बजार सुरु भइसकेको छ । सामानहरुमा छुट दिएर २३ भदौदेखि नै देशभरी ३५ स्थानमा बजार सुरु गरिएको क्षेत्रीय प्रबन्धक बज्रेश झाले बताए ।

उनका अनुसार चिनीमा प्रतिकिलो साढे सात रुपैयाँ घटाइएको छ । चिनीमा सरकारले पाँच तथा कर्पाेरेशनले साढे दुई रुपैयाँ घटाएको हो । जसअनुसार यसअघि ७९ रुपैयाँ ५० पैसा प्रतिकिलोमा बिक्री हुने चिनी ७२ रुपैयाँमा बिक्री गरिएको छ ।

त्यस्तै नुनको मुल्य प्रतिकिलो २० बाट १८ रुपैयाँमा घटाइएको छ । गेडागुढी तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको छ । साल्टट्रेडिङले बिक्री गर्ने खानेतेललगायत चामल, गहुँ अन्य खाद्यान्नमा पनि छुट दिइएको छ ।

काठमाडौंमा मात्र आठ ठाउँमा कर्पाेरेशनको सस्तो बजार छ । कालिाटीस्थित केन्द्रीय कार्यालयसहित सिंहदरबार अगाडिको नेशनल ट्रेडिङको प्राङ्गण, सतुङ्गल, कोटेश्वर, जावलाखेल, भक्तपुरमा दशैंलाई लक्षित गरी कर्पाेरेशनले बिक्री सुरु गरेको छ । यसबाहेक ग्राहकको सुविधाका लागि तीन वटा घुम्ती सेवा रहेको झा बताउँछन् । जुन सर्वसाधरणको मागअनुसार भ्यानमा विभिन्न ठाउँमा राखेर बिक्री गरिन्छ । कर्पाेरेशनका सामान गुणस्तरीय हुने भएकैले बजारमा सर्वसाधरणको भीड लागेको छ ।

यसरी चाडपर्वमा साल्ट ट्रेडिङले सञ्चालन गर्ने बिक्री कक्षले सर्वसाधरणलाई सस्तोमा सामान किन्न त पाउने नै भए, त्यसका लागि सम्भावित महंगीलाई समेत नियन्त्रण गर्दै आएको छ । व्यापारीहरुले चाडपर्वको अवसरमा जभाभावी मूल्य बढाउन सक्ने भएकाले साल्ट ट्रेडिङको सस्तो बजारले त्यसलाई रोक्दै आएको छ । बजारमा मूल्य बढाएमा सर्वसाधरण साल्ट ट्रेडिङमा जाने भएकाले व्यापारीहरुसमेत मूल्य घटाउन बाध्य हुने गरेको छ । यसले बजारलाई सन्तुलित बनाउन साल्ट ट्रेडिङ कर्पाेरेशनजस्ता निकाय राज्यमा कति आवश्यक छ भन्ने प्रष्ट हुन्छ ।

सरकारी स्वामित्वसमेत रहेको संस्था हो साल्ट ट्रेडिङ । अन्य संस्थानहरु धराशायी भए पनि साल्ट ट्रेडिङ मुनाफामै छ । तर, सरकारले यसको विस्तारका लागि कुनै कदम चालेको छैन । बरु उल्टै दुःख दिने काम सरकारले गरेको छ । नून, ग्यास, खाद्यान्न मात्र होइन, न्यूज प्रिन्टसमेत साल्ट ट्रेडिङले बेच्दै आएको कारण बजारमा न्यूज प्रिन्टको मूल्यवृद्धि हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्