Logo
Logo

अहिलेको सरकारले आर्थिक र सामाजिक स्थिरता दिनुपर्छ : शेखर कोइराला


504
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकको अर्थतन्त्र अत्यन्तै डमाडोल अवस्थामा रहेको भन्दै वर्तमान सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगरस्थित कोइराला निवासमा पार्टीका प्रदेश सांसदसँगको चियापान समारोहमा प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण बताउँदै यस्तो बताएका हुन् ।

नेता कोइरालाले भने, ‘अहिलेको सरकारले राम्रो काम गरेर देशलाई अघि बढाएर समृद्धि ल्याउनुका साथै आर्थिक, सामाजिक र राजनीतिक स्थिरता दिओस् भन्ने कामना गर्न चाहन्छु ।’

सन् २०२३ मा विश्वभरि नै आर्थिक संकट बढ्दै जाने अर्थविद्हरुको प्रक्षेपण रहेको उनले बताए । उनले भने, ‘त्यसका लागि यसअघि पनि अर्थमन्त्री भइसकेका विष्णु पौडेलजीले समाधान गर्छन् भन्ने विश्वास छ ।’

नेता कोइरालाले पाँच दलीय गठबन्धनलाई लामो समयसम्म अगाडि बढाउने सोच भएपनि कांग्रेस नेतृत्वको कमजोरी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कारण हुन अगाडि बढ्न नसकेको बताए ।

‘माओवादी केन्द्रका अध्यक्ष दाहालले सुरुमा नै प्रधानमन्त्री बन्न चाहेको विषय पार्टी नेतृत्वलाई जानकारी गराइसको थिएँ’ उनले भने, ‘त्यसैले गठबन्धन टुट्नुमा कांग्रेस नेतृत्वको कमजोरी छ ।’ अब कांग्रेस प्रतिपक्षमा बसेर पनि देश र जनताको हितमा काम गर्ने उनको भनाइ छ ।

‘कांग्रेसभित्र ठूलो शक्ति छ, त्यसलाई हामीले अघि बढाउँछौं । जहाँ गल्ती हुन्छ त्यहाँ गलत भनेर अघि बढ्ने आँट राखेर अघि बढ्छौं’ उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले फौजदारी अभियोगको विषयमा ल्याएको अध्यादेशको खुलेरै विरोध गरेकै हौं । अहिलेको सरकारले पनि कुनै गलत काम ग¥यो भने विरोध गछौं ।’

प्रतिक्रिया दिनुहोस्