Logo
Logo

माओवादीलाई समाप्त पार्ने ओलीको भित्री रणनीति



नेपालको पछिल्लो राजनीतिक अंकगणितले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चर्चाको शिखरमा पुर्याइदिएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणामले एमालेलाई दोस्रो पार्टीको दर्जा अर्थात् प्रतिपक्षमा बस्ने जनादेश दिए पनि ओलीको चतुर्याइले एमालेलाई सत्ता पक्षमा मात्र पुर्याएन, राष्ट्रपति, सभामुख, दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने अवसर पनि जुराइदियो ।

यसो हुनुमा कांग्रेस सभापति शेरबहादुर देउवाको हुस्सुपन र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को महत्वाकांक्षा प्रमुख कारण बन्यो । यदि, देउवाले आधा कार्यकालपछि आफू प्रधानमन्त्री हुने गरी अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए जनमतको कदर पनि हुन्थ्यो र निर्वाचनपूर्व गरिएका प्रतिबद्धताअनुरुप गठबन्धन पनि जोगिन्थ्यो ।

२०७७ पुस ५ गते जुन उद्देश्यले संविधानविपरीत संसद् विघटन गरियो, त्यसविरुद्ध संविधान जोगाउने उद्देश्यका साथ यो पाँच दलीय गठबन्धन बनेको हो । संविधान जोगाउनकै लागि देउवालाई प्रधानमन्त्री बनाइएको हो । गठबन्धनको भावना र मर्मबमोजिम देउवा चल्न नसकेकै कारण देश पुनः राजनीतिक अस्थिरतातर्फ लम्कने खतरा बढेको छ ।

अहिले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमतिका साथ प्रचण्ड नेतृत्वमा सरकार गठन भए पनि एक वर्षभित्रै प्रचण्ड विस्थापित भए आश्चर्य मान्नु पर्दैन ।

ढाँट र छलकपटको राजनीति दिगो हुन सक्दैन । स्वार्थ मिलेसम्म मात्र हो । यहाँ त स्वार्थभन्दा ठूलो कुरा नियतको देखिएको छ । गलत नियतले गरिएको सम्बन्ध पानीको फोका जस्तै हुन्छ भन्ने कुरा समयले पुष्टि गर्ने छ ।

नेपालको राजनीतिमा माओवादीलाई स्थापित गर्न ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएका होइनन् । प्रचण्डलाई प्रयोग गरेर यो गठबन्धन भत्काउने र माओवादीलाई समाप्त पार्ने भित्री रणनीतिअनुरुप अहिले प्रचण्डलाई प्रयोग गरिएको हो ।

यो रणनीतिअनुरुप पहिला राष्ट्रपति, सभामुख, प्रदेश सरकार, संवैधानिक अंग, राजदूत नियुक्ति सबै आफ्नो हातमा पार्ने र प्रचण्डकै ढाडमा टेकेर प्रचण्डकै टाउकोमा हान्ने रणनीति हो ।

त्यसो नहँुदो हो त ओलीले विगतमा गरेका गल्ती सच्याउँदै वाम नेतृत्वको सरकार गठनमा जोड दिने थिए । प्रचण्डको चरम सत्तामोह बुझेरै ओली पाँचदलीय गठबन्धन भत्काउन मात्र सफल भएनन्, सत्ताको सम्पूर्ण चाबी आफ्नो हातमा लिएर प्रचण्डलाई पंगु बनाउन ओली दोस्रोपटक पनि सफल भए । ओलीको यही रणनीति बुझेर माधवकुमार नेपाल पर्ख र हेरको रणनीतिमा छन् ।

अन्ततः यही रणनीति नेपालको राजनीतिमा सफल हुने आम विश्वास छ । किनभने, ढाँट, छलकपटको राजनीति दिगो हुन सक्दैन । त्यो स्वार्थ मिलेसम्म मात्र हो । यहाँ त स्वार्थभन्दा ठूलो कुरा नियतको देखिएको छ । गलत नियतले गरिएको सम्बन्ध पानीको फोका जस्तै हुन्छ भन्ने कुरा समयले पुष्टि गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्