Logo

एनआईसी एशिया र लोकसेवा आयोगबीच राजश्व संकलन गर्नेसम्बन्धी सम्झौता


Published On : 20 September, 2019

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र लोकसेवा आयोगबीच लोकसेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुरवापतको राजश्व एनआईसी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ । सो सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोकसेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै देशभर अधिकतम शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्