Logo
Logo

स्वर्गको गेटमा पेलेलाई म्याराडोनाले स्वागत गरे होलान् ?



मृत्युपछि मान्छे कहाँ जान्छन् ? थाहा छैन । तर, सुन्दै र भन्दै आएका दुई फरक लोक छन्– स्वर्ग र नर्क । स्वर्गमा जाती र नर्कमा नजाती जान्छन् । अध्यात्मवादीहरु यी दुई कुरामै विश्वास गर्छन् ।

साँच्ची कस्तो हुन्छ स्वर्ग ? थाहा छैन । तैपनि दुनियाँ स्वर्ग जान चाहन्छन् । तर, कस्तो दुविधा– ‘नमरी स्वर्ग देखिँदैन ।’ स्वर्ग जाने चाहना सबैलाई हुन्छ । तर, मर्ने इच्छा कसैलाई हुँदैन ।

सदियौंदेखि भनिँदै र सुनिँदै आएको कुरा–
स्वर्ग– वातावरण सुरम्य ! हावामा संगीतको प्रतिध्वनि ! चारैतिर बगैँचा ! सबै खुशी ! सबै सुखी ! मिष्ठान्न भोजन !

नर्क– रुखो, उजाड, उराठलाग्दो र भयानक ! डरलाग्दा हिंस्रक दृश्य ! ठूला–ठूला भाँडामा तेल तताइरहेको ! र, त्यहाँ पुग्नेहरुलाई तातो तेलमा छ्याइँ पारिरहेको !

यी कुनै तथ्य र विज्ञानमा आधारित कुरा होइन । सदियौंदेखि भन्दै र सुन्दै आएको कुरा मात्रै हो । तर, यी कुराले मरेपछि जो केहीलाई स्वर्ग जाने मोह भने पक्कै हुन्छ ।

विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा चर्चित नाम हो– पेले र म्याराडोना । उनीहरूलाई पनि स्वर्ग जाने इच्छा थियो ! र, दुवै आज यो लोकमा छैनन् ।

उनीहरूको अर्को इच्छा– स्वर्गमा फुटबल खेल्ने ! त्यो पनि एउटै टिमबाट । धरतीमा नमिलेका यी दुई स्वर्गमा कसरी मिल्लान् ?

संसारको सबैभन्दा लोकप्रिय खेल हो– फुटबल । सबैभन्दा धेरै खेलिने, हेरिने र चासो दिइने खेल । यो खेल्न जति रमाइलो हुन्छ । हेर्दा उतिकै मजा आउँछ ।

दुनियाँमा एकपटक फुटबल नखेल्ने त कमै होलान् ! चाहे त्यो प्लाष्टिकको होस्, या आफैले बनाएको कपडाको किन नहोस् । गाउँघरका आँगन, सडक, गल्ली, चोक–चौतारा र रंगशालामा खेलिन्छ ।

पेले र म्याराडोनाको नाम नसुन्ने सायदै होलान् । उनीहरु त्यस्ता खेलाडी हुन् । जो सबैको मन र मुटुमा बसेका छन् ।

यी दुई र फुटबल पर्यायजस्तै छन् । मैदानमा गर्ने जादुमयी प्रदर्शनको कायल थियो, विश्व फुटबल ।

करोडौं समर्थक । सँगसँगै को सर्वोत्कृष्ट ? भन्ने बहस । आज उनीहरूको भौतिक चोला हामीसँग छैन । तर, उनीहरूबीच को सर्वोत्कृष्ट भन्ने बहस अझै बाँकी छ । समर्थक आ–आफ्नै आदर्शलाई सर्वोत्कृष्टको पगरी गुथाउन चर्काचर्की बहस गरिरहेकै छन् ।

यी दुई खेलाडीमध्ये को महान् ? भन्ने विषयमा फिफाले आम समर्थकको मत समेटेको पनि थियो । जसमा म्याराडोनाको पक्षमा अत्याधिक मत खस्यो । तर, यसको चर्को विरोध भयो । यो मत परिणामलाई खारेज गर्न बाध्य भयो, फिफा ।

त्यसपछि फिफाले आन्तरिक रूपमा ‘को सर्वकालीक महान् ?’ भन्ने विषयमा अर्को ‘पोल’ गर्यो । जसमा पेलेको पक्षमा धेरै मत खस्यो । को महान् भन्ने विषयमा दुई फरक नतिजा आएपछि अन्त्यमा फिफाले दुवैलाई २०औँ शताब्दीको महान् खेलाडी घोषणा गर्याे ।

०००

पृथ्वीमा सर्वोत्कृष्टको बहस नटुङ्ग्याइ दुवै विदा भए । म्याडारोनाको दुई वर्ष अघि मृत्यु भयो । पेलेको गत ३० डिसेम्बरमा ।

कल्पनाकै कुरा गरौं–
पेलेले भनेझैँ अब यी दुई सायद एकसाथ स्वर्गमा फुटबल खेल्नेछन् । र, सर्वोत्कृष्ट पनि स्वर्गलोकले नै छुट्याउने छ । सर्वोत्कृष्ट बहस पनि टुंगिनेछ !

म्याराडोनाको मृत्युमा धेरै दुःखी बनेकामध्ये एक हुन्, पेले । निकै भावुक हुँदै उनले म्याराडोनाप्रति श्रद्धा अर्पण गरे । पेलेले म्याराडोनाको प्रशंसा मात्र गरेनन्, संसारकै सबैभन्दा उत्कृष्ट खेलाडी भएको पनि बताए ।

जीवित रहँदा पेलेले म्याराडोनालाई एक असल मित्र रहेको बताउँन सकेनन् । तर, मरेपछि भने उनका असल मित्र बने । पेलेको नजरमा म्याराडोना ‘अपर्याप्त’ थिए । म्याराडोनाको नजरमा पेले ‘डेट एक्सपायर सामग्री’ थिए ।

दुई खेलाडी पहिलोपटक सन् १९७९ मा भेटेका थिए । त्यसबेला दुवै शान्त, मैत्रीपूर्ण र एकअर्काप्रति आदरणीय रहे । पेले उदीयमान तारासँग कुराकानी गर्न पाउँदा खुशी भए । महान खेलाडीलाई भेट्न पाउँदा म्याराडोना हर्षित भए ।

सन् १९८२ मा स्पेनमा विश्वकप भयो । म्याराडोनाले ब्राजिलियन खेलाडीमाथि अभद्र व्यवहार देखाए । रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि पेले लगातार म्याराडोनाको आलोचनामा उत्रिए ।

त्यसपछि यी दुई खेलाडी एक दशकसम्म एकअर्काको खरो रूपमा उत्रिरहे । एकले अर्कोको आलोचना गरिरहे । दशकौँसम्म खिचातानीका बाबजुद म्याराडोनाको निधन भयो । पेले उदार रूपमा उनको तारिफमा आए । स्वर्गमा एकै टोलीबाट खेल्ने बताए ।

उनले भनेका थिए– ‘पृथ्वीमा हामी दुई कहिले पनि एकै टोलीबाट खेल्ने अवसर पाएनौँ, तर स्वर्गमा म्याराडोना र पेले एकै टोलीबाट खेल्नेछ, यो पहिलोपटक हुनेछ, म त्यो दिन एक हात उठाएर र विना गोल नै म्याराडोनालाई अँगालो हाली खुसी मनाउनेछु ।’

सायद, स्वर्गको गेटमा पेलेलाई म्याराडोनाले फूलमालाले स्वागत गरे होलान् ! र, अहिले स्वर्गमा धरतीका उत्कृष्ट फुटबल टिम बनाउँदै होलान् ! पेले र म्याराडोना एउटै टिमबाट खेलेपछि स्वर्गमा सबैभन्दा उत्कृष्ट टिम बन्नेछ !

०००

स्वर्गमा धरतीका एक टिम !
फरवार्ड : पेले (ब्राजिल), म्याराडोना (अर्जेन्टिना), डेभी कुपर (स्कटल्याण्ड)

मिडफिल्डर : एन्ड्रेस एस्कोबार (कोलम्बिया), गारिन्चा (ब्राजिल), डेभी कुपर (स्कटल्याण्ड), मार्क–भिभियन फोई (क्यामरून), ग्यारी स्पीड (इंग्ल्याण्ड), एन्टोनियो पुएर्टा (स्पेन), फर्नान्डो रिकसेन (नेदरल्याण्ड), सुकरात (ब्राजिल), पाओलो रोसी (इटाली), जिएकिन्टो फिक्याची (इटाली), निल्टन सान्तोस (ब्राजिल)

डिफेन्डर : कार्लोस अल्बर्टो (ब्राजिल), गेटानो स्किरिया (पोल्यान्ड), मेस्लोस फेहेर (हंगेरी) फिल ओडोनेल (स्कटल्याण्ड), जोन थम्पसन (इंग्ल्याण्ड)

गोलकिपर : लेभ याशीन (रुस), डेभी कुपर (स्कटल्याण्ड), रोबर्ट एन्के (जर्मनी)

प्रशिक्षक : माइक लीच (अमेरिका)

०००

विश्व फुटबलमा पेले र म्याराडोनाले पुर्याएको योगदान शब्दमा वर्णन गर्न सकिँदैन । फुटबलमा यी दुवैको योगदान अविस्मरणीय छ । उनीहरूकै कारण अहिले विश्वमा सबैभन्दा धेरै खेलिने र हेरिने खेल बनेको छ, फुटबल ।

पेले र म्याराडोनाबिना आधुनिक फुटबलको चर्चा असम्भव हुन्छ । यी दुईले जसरी विश्व फुटबललाई हल्लाए– पेलेले भनेजस्तै, अब स्वर्गमा पनि त्यसरी नै हल्लाउने छन् !

प्रतिक्रिया दिनुहोस्