Logo

व्यवसायी निराश नहुनुहोस् : अर्थमन्त्री खतिवडा


Published On : 22 September, 2019

पोखरा, ५ असोज । अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उहाँले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले उत्पादनमा जोड दिई पूँजी बजारको विकासलाई प्राथमिकता दिएको र लगानीको क्षेत्र पहिचान गरिरहेको बताउनुभयो । काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि रु ४० अर्ब बजेट छुट्टयाएको उल्लेख गर्दै उहाँले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले पारदर्शी, स्वच्छ र सदाचारी व्यवसायी बन्न आफैँबाट शुरु गरे भ्रष्टाचार निर्मूल हुने बताउनुभयो ।

अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै मन्त्री खतिवडाले कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने ठोकुवा गर्नुभयो । आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशान कायम गर्नुपर्ने भन्दै सरकार यस विषयमा सजग भएको उहाँको धारणा थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले लगानीको वातावरण बन्दै गएकाले उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । मुलुक अस्थिरताबाट दिगो विकासको बाटोमा हिँडेकाले अब सकारात्क नतिजा आउने उहाँको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रका समस्यामा सरकार गम्भीर हुन नसकेको भन्दै व्यवसायीमैत्री वातावरणमा जोड दिन आग्रह गर्नुभयो ।

सो अवसरमा सङ्घले आर्थिक पत्रकारिता पुरस्कार, २०७६ बाट पत्रकार भरत कोइरालालाई सम्मान गरेको छ । कोइरालालाई पत्रकारिताको माध्यमबाट पोखराको आर्थिक विकासमा पु¥याएको योगदान स्वरुप रु २५ हजारसहित सम्मान गरिएको हो ।

यस्तै लक्ष्मी हाउस पोखराद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित लक्ष्मी विद्यापदक, २०७६ पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन सङ्कायमा बिबिएस र बिबिएतर्फ स्नातक र व्यवस्थापनको स्नातकोत्तरमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । बिबिएसतर्फ पृथ्वीनारायण बहुमुखी क्याम्पसकी छात्रा स्मृति पुर्जा, बिबिएतर्फ पोखरा कलेज अफ म्यानेजमेण्टका छात्र अमृत अधिकारी र स्नानतकोत्तरतर्फ सर्वोत्कृष्ट अङ्क ल्याउने कन्या क्याम्पस पोखराकी छात्रा श्वेताकुमारी गुप्तालाई अर्थमन्त्री खतिवडाले पदकसहित सम्मान गर्नुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष दामु अधिकारीले व्यवसायका समस्या प्रस्तुत गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन अर्थमन्त्री खतिवडासँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्