Logo
Logo

ओशाका उडानले डुबायो निगम


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ७ असोज । पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा नेपाल वायुसेवा निगम सुधार गर्न गठित कार्यदलले विभिन्न सुझावसहित असोज १ गते पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझायो । उक्त प्रतिवेदनमा जे जस्ता सुझाव दिइएता पनि निगम डुब्नुमा पहिलो कारण राजनीतिक हस्तक्षेप, दोस्रो कारण कमिशन, भ्रष्टाचार र तेस्रो कारण भनेको असक्षम व्यवस्थापन नै हो । अहिले पनि केपी शर्मा ओली प्रधानमन्त्री हुनासाथ उनले निगममा राजनीतिक हस्तक्षेप गरेर आफ्ना जिल्लावासी मदन खरेललाई निगमको कार्यकारी अध्यक्ष बनाए । खरेल अध्यक्ष भएपछि निगम अस्तव्यस्त बन्यो । नागरिक लगानी कोष र सञ्चयकोषको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा खरेलले निगमलाई पु¥याए ।

खरेलले ढिलै भए पनि जापानको ओशाका उडान त सुरु गरे, तर जापानको बजार व्यवस्थापन गर्न नसक्दा निगमलाई ओशाका उडान निल्नु न ओकल्नु भएको छ । २७६ सिट क्षमताको एयरबस ३३० जहाजको आधा सिट पनि भरिएको छैन । यसबाट एउटा उडानमै निगमलाई करोडौं नोक्सान भएको छ । यसो हुनुको पछाडि जापानमा पीएसए नियुक्ति गर्दा गलत कम्पनी छान्नु हो । जापानमा निगमको प्रतिनिधिका रुपमा कार्यरत देवमान हिराचनले जुलाई महिनामा ओशाका उडान गर्दा ३५ करोड १० लाख ४८ हजार आम्दानी हुने तथ्यांक निगमलाई बुझाएका थिए भने, अगस्तमा ४० करोड ९५ लाख ५६ हजार आम्दानी हुने तथ्यांक निगमलाई बुझाएका थिए । यो तथ्यांक दशैँपछि अरु बढ्ने कुरा पनि हिराचनले निगमलाई जानकारी दिएका थिए । काठमाडौँ–ओशाका–काठमाडौँ उडानको ८० प्रतिशत सिट बुकिङको ग्यारेन्टी हिराचनले निगमसँग गरेको थियो । तर, बीचबाटै बालुवाटारको दबाबमा हिराचनलाई एजेन्टबाट हटाएर थर्पु शेर्पालाई पीएसए दिएपछि निगम यो हालतमा पुगेको हो । थर्पु शेर्पालाई एजेन्ट नियुक्त गर्दा पनि ठूलो कमिशनको खेल भएको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीले जापानको नारितामा उडान गर्ने निर्देशन दिए पनि निगमले नारिताको तयारी नगरी हचुवाको भरमा ओशाका उडान गरेपछि निगम थप घाटामा गएको हो । कुनै बेला ठूला जहाज नभएर घाटामा गएको निगमलाई दुईवटा वाइडबडी ‘माग्नेलाई हात्ती दानजस्तो’ भएको छ । तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारले दुईवटा वाइडबडी जहाजलाई जापानको नारिता, दक्षिण कोरियाको सियोल, साउदी अरेवियाको रियाद र चीनको ग्वाङझाओ उडान गर्ने रणनीति बनाएका थिए । तर, नेकपाको दुईतिहाइ बहुमतको सरकार बनेपछि त्यसको पहिलो शिकार कंशाकारलाई बनाइयो र निगमको शेयर विदेशी एयरलाइन्सलाई बेच्ने योजनाअन्तर्गत खरेललाई अध्यक्ष नियुक्ति गरियो । जस्तो रुख रोप्यो त्यस्तै फल फल्छ भनेझै निगममा खरेलको नियुक्तिले देखाएको छ ।

खरेलले कर्मचारी व्यवस्थापनसमेत राम्रोसँग गर्न सकेका छैनन् । उनी आएपछि निगममा भ्रष्ट कर्मचारीहरुकै हालीमुहाली चलिरहेको छ । साउनमा बढुवा हुनुपर्ने कर्मचारीको बढुवा अहिलेसम्म भएको छैन । नौ तह बढुवा भएका टंकनिधि दाहाल, अर्चना खड्का र जीवन भट्टराईको नियुक्तिपत्र रोकिएको छ । नौ तहका कर्मचारीले हाँक्नुपर्ने विभिन्न विभाग आठौँ तहका कर्मचारीबाट काम चलाइएको छ । त्यसैगरी विदेश पोष्टिङमा पनि व्यापक चलखेल भएको छ । निगमको मापदण्डविपरीत राजेश शाहीलाई ओशाका, सुनिल श्रेष्ठलाई हङकङ, सरोज पन्थीलाई ग्वाङझाओ, अजय शाहलाई मुम्बई र नविन तिमिल्सिनालाई नयाँदिल्ली पठाउने आन्तरिक तयारी भइरहेको निगम स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्