Logo
Logo

धितोपत्र बोर्डमा दौडधुप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज । नेपाल धितोपत्र बोर्डको अध्यक्षको कार्यकाल यहि असोज अन्तिम सातादेखि सकिँदैछ । रिक्त हुने बोर्ड अध्यक्षको लागि दौडधुप पनि शुरु भएको छ । विगतदेखि नै अध्यक्षको नियुक्तीमा अर्थमन्त्री हाबी हुँदै आएकाले पनि यसपटक कसको पल्ला भारी हुने भन्ने विषयले चर्चा पाएको हो । हालसम्म बजारमा धेरैजना दौडको प्रत्यासी रहे तापनि अर्थमन्त्रीले अध्यक्षमा नेपाल राष्ट्र बैंकबाट हालै अवकाशप्राप्त कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई अगाडी सार्ने सम्भावना बढेको अर्थ मन्त्रालय सूत्र बताउँछ । ढुंगाना हालैमात्र खतिवडाको सिफारिशमा बोर्डको विज्ञ सञ्चालकमा नियुक्त भएका हुन् ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपयुक्त उम्मेदवार सिफारिश गर्ने सम्भावना बढेको सूत्र बताउँछ । पछिल्लो समयमा सेयर बजारको विषय बजारमा निकै उछालिएका कारण पनि योग्य व्यक्तिलाई बोर्डको अध्यक्षमा नियुक्त गर्नुपर्ने अडानमा प्रधानमन्त्री स्वयम् रहेका देखिएको छ । सेयर बजारको विषय र विवादमा लगानीकर्ताहरुले अर्थमन्त्री खतिवडालाई पटक पटक मुछेपछि प्रधानमन्त्रीले हालै केही सेयर खेलाडीहरुसँगको भेटमा बोर्ड अध्यक्षमा नयाँ व्यक्तिको नियुक्तीपछि समस्या समाधान हुने बताएका थिए । प्रधानमन्त्रीले एफसीए टंक पनेरुलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने सूत्र बताउँछ । यसअघि आइक्यानको अध्यक्ष रहिसकेका पनेरु सार्वजनिक संस्थान सुधार सुझाव आयोगका सदस्य र स्टक एक्सचेञ्जको अध्यक्ष समेत रहिसकेका छन् ।

बोर्ड धितोपत्र बजारको नियमनकारी निकाय भएको र अध्यक्ष कार्यकारी भएकाले पनि पछिल्लो समयदेखि उक्त पदमा सबैले आँखा गाड्न थालेका हुन् । पछिल्लो समयमा कमोडिटी एक्सचेञ्ज र मार्केटको समेत चर्चा हुन थालेकोले धितोपत्र बोर्डको दायरा फराकिलो बन्दै गएको छ । चार वर्षअघि तत्कालीन अर्थमन्त्री रामशरण महतले रेवतबहादुर कार्कीलाई बोर्डको अध्यक्षमा नियुक्ती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्