Logo
Logo

हुलाकको एक्सरे खरिदमा सेटिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार रुपैयाँ घुस लिने बाणिज्य विभागका नायबसुब्बा पुरुषोत्तम पोखरेललाई पक्राउ गरी मुद्दा चलाएको छ । तर, करोडदेखि अरबांैं रुपैयाँ नीतिगत भ्रष्टाचारमा आयोगले छानबिन गर्ने आँट गर्न सकेको छैन । पछिल्लो पटक सरकारका मन्त्रालय, विभाग र आयोजनाहरुले ठेक्कापट्टामा पहिले नै सेटिङ गरी प्रतिस्पर्धा नै हुन नदिई २० लाखको सामान ४० लाखमा खरिद गर्ने गरेका छन् । यसैक्रममा गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले २०७६ असोज ६ गते पार्सल इन्सपेक्सन एक्सरे मेसिन खरिदका लागि निकालेको टेण्डरमा त्यस्तै सेटिङ भएको देखिन्छ । टेण्डर सूचनामा राखिएको क्वालिफिकेसन क्राइटेरियाका आधारमा एउटा कम्पनीसँग मिल्ने गरी शर्तहरु राखिएका छन् ।

गोश्वार हुलाक कार्यालयबाट शिवप्रसाद खेम्काको महावीरश्री इन्टरनेशनल प्रालिबाट एक्सरे मेसिन खरिद गर्नेगरी उसकै कम्पनीको लागि मात्र हुनेगरी क्वालिफिकेसन क्राइटेरिया बनाइएको आरोप छ । १ करोडको एक्सरे मेसिन खरिदका लागि १५ करोडको कारोबार भएको कम्पनी हुनुपर्ने, १० करोडको बोलपत्र प्राप्त गरिसकेको हुनुपर्ने, ५० वटा एक्सरे मेसिन नेपालका एयरपोर्टमा सप्लाई गरेको हुनुपर्ने जस्ता क्राइटेरिया राखिएको छ । महावीरश्रीले एयरपोर्टमा एक्सरे मेसिन सप्लाई गरेकोले पनि उसलाई मात्र हुनेगरी उसैले भनेअनुसार गोश्वारा हुलाक कार्यालयले टेण्डरको क्वालिफिकेसन क्राइटेरिया बनाएको आरोप छ ।

यसअघि नागरिक उड्डयन प्राधिकरणका हरेक टेण्डरमा महावीरश्रीलाई नै दिनेगरी सेटिङ हुँदैआएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयदेखि देशभरका विमानस्थलमा महावीरश्रीले सेटिङ गरी १ करोडको सामान २ करोड रुपैयाँसम्ममा भिडाउने गरेको छ । यसअघि नागरिक उड्डयन प्राधिकरणले महावीरश्रीबाट ८ वटा दमकल खरिदमा पनि करोडौं घोटाला भएको थियो । तत्कालीन प्रमुख संजीव गौतमसँगको सेटिङमा खेम्काको एयरपोर्टमा एकछत्र राज थियो ।

एक्सरे मेसिन खरिदमा एउटा कम्पनीलाई मात्र हुनेगरी टेण्डर गरिएकोबारेमा गोश्वारा हुलाक कार्यालयका प्रमुख बेदप्रसाद भण्डारीले भने–‘हामीले नागरिक उड्डयन प्राधिकरणका इन्जीनीयरलाई स्पेसिफिकेसन र क्वालिफिकेसन क्राइटेरिया बनाउन दिएका हौं । हामीलाई अनुभव नभएकाले प्राधिकरणका प्राविधिकलाई दिइएको हो । यदि प्रतिस्पर्धा नै नहुने गरी बनाइएको भए असोज २६ मा हुने पं्री बिडिङ मिटिङमा हामी त्यसलाई सम्बोधन गर्न तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्