Logo
Logo

टेलिकममा जागिर, प्रहरीमा ठेक्का


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज । टोपेन्द्र बीसी नेपाल टेलिकममा जागिर खान्छन् । तर उनी कहिल्यै टेलिकममा काम गर्दैनन् । उनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका हाकिमहरुसँग ठेक्काको डिल गर्न भ्याई नभ्याई छ । टेलिकमका ७ तहका बरिष्ट इन्जीनीयर बीसी कहिल्यै टेलिकमको काम गर्दैनन््, उनलाई प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र मुख्यालय हल्चोक र जंगीअड्डा भद्रकालीमा खरिदका हाकिमहरुकोमा ठेक्कामा डिल गर्दैगरेको भेटिन्छ । टेलिकममा जागिर भएकाले आफ्नो नाममा कम्पनी दर्ता नगरी उनले साला समुन्द्र खड्का र श्रीमतीका नाममा दर्ता गरी ठेक्का लिने गरेका छन् । पछिल्लो पटक नेपाल प्रहरीमा २५ हजार थान ऊलन स्वीटरको ठेक्का बीसीको तेजसम इन्टरप्राइजेजले हात पार्ने भएको छ । उनले सेटिङ गरी लागत अनुमानभन्दा ५ रुपैयाँ कममा बोलपत्र पेश गरेका छन् ।

ऊलन स्वीटर प्रतिथान १ हजार ३ सय २ रुपैयाँ लागत अनुमान थियो । इन्टरप्राइजेजले प्रतिथान १ हजार २ सय ९७ रुपैयाँमा पेश गरेको छ । यसरी प्रहरीबाट लागत अनुमानको अंक पहिल्यै लिएर सेटिङमा ठेक्का दिन लागिएको सार्वजनिक भएपछि अख्तियारले खरिदका सबै फाइल लगेको छ । अख्तियारको सक्रियतापछि प्रहरीले ऊलन स्वीटर लगायतका ५० करोड बराबरका बन्दोबस्तीका सामानहरुको टेण्डर टुंगो लगाउन सकेको छैन । शुक्रबारै टुंगो लगाउने भनिए पनि बिदा परेकाले आइतबार सारिएको थियो । तर अख्तियारको चासोपछि यो टेण्डर रद्द हुने संभावना बढेको छ ।

टेलिकमबाट काम नगरी तलव खाने बीसीले सालाका नाममा दर्ता गरेको पार्वती ट्रेडर्सलाई नेपाली सेनाले कालोसूचीमा राखेको छ । दोस्रो संविधानसभाको निर्वाचनअघि टेण्डर गरेको सामान ५ बर्ष पूरा भइसक्दा पनि नबुझाएपछि नेपाली सेनाले पार्वती ट्रेडर्सलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई २०७५ फागुनमा सिफारिस गरेको थियो ।
नेपाल टेलिकमका जागिरे बीसीले आफ्ना प्रतिस्पर्धी ठेकेदारहरुको कलडिटेल निकालेर गैरकानुनी रुपमा प्रहरी र सेनाका हाकिमहरुलाई दिने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्