Logo
Logo

फ्रिजमा करेन्ट लागेर तीनको मृत्यु


- दृष्टि न्युज/संवाददाता


धुनषा, ८ असोज । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उहाँकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घटना रातिकै भए पनि बिहान कोही नउठेपछि स्थानीयले हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बिहानै होटल सञ्चालक महतोकी आमा होटल गई ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयलाई गुहारेकी थिइन् । घटनापश्चात् स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो ।
अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । घटनास्थल प्रकृति मुचुल्का उठाई तीनै जनाको शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकराी दिए ।

प्रतिक्रिया दिनुहोस्