
कालिकोट । नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टावर र भवन निर्माण भइसकेको छ । विमानस्थल कालोपत्रे र रनवेको काम पनि अन्तिम चरणमा पुगेको छ ।
धावनमार्गको ६ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको छ । यो विमानस्थल २०४२ सालबाट निर्माण सुरु गरिएको थियो ।
विमानस्थल निर्माणको काम ९५ प्रतिशत भइसकेको विमानस्थल निर्माणमा खटिएका प्रबन्धक आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले बताए । उनले भने ‘अहिले विमानस्थलको काम तीब्र गतिमा हुँदैछ । पिचको काम पनि ८५ प्रतिशत सम्पन्न भएको छ । कलर लगाउने काम पनि सुरु भयो । सबै काम माघ महिनामा सम्पन्न हुन्छ ।’
विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीहरूलाई सकस छ । ‘कच्ची र अप्ठ्यारो सडक भएकाले निर्माण सामग्री ल्याउन निकै समस्या थियो । तर, पनि काम धमाधम भइरहेको छ’, गौरी–पार्वती–श्याम एण्ड शंकर जेभीका प्रतिनिधि कलम केसीले भने, हामीले अरु काम सकेर पिच र कलरको काम सुरु गरेका छौं । माघ अन्तिमसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’

गौरी–पार्वती–श्याम एण्ड शंकर जेभीले पिच गर्ने, नाला बनाउने, माटो काट्ने काम गर्न भ्याटसहित १३ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको छ । त्यस्तै भवन र टावर निर्माणका लागि पीआर इन्फास्टक्चरले भ्याटसहित ३ करोड ४७ लाख ७४ ठेक्का लिएर काम गरिरहेको छ ।
२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर काम सुरु गरेको सुनथराली विमानस्थल निर्माणको काम ३८ वर्षपछि पुरा हुन लागे हो ।
२०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङ जोगिमाराका १७ सहित ३५ जनाको एक स्थानीयको घरमा नेपाली सेनाले हत्या गरेको थियो । त्यसयता बन्द रहेको विमानस्थलको निर्माण कार्य देशमा शान्ति स्थापना पछि पुनः सुरु भएको हो ।
२०७३ माघ २९ गते परीक्षण उडान भएको विमानस्थलमा फेरि जहाज फर्केर आएको छैन । अब विमानस्थल कालोपत्रेको काम अन्तिम चरणमा रहेकाले जहाज आउने स्थानीयमा आशा पलाएको छ ।
‘चिलगाडी (हवाईजहाज) आउने आश (छियन) थिएन, अव आशा पलायो’, स्थानीय एक महिलाले भने, ‘विमानस्थल निर्माण सुरु भएको कैयौ वर्ष भया हवाईजहाज आउने भन्दा छन् ।’ लामो समयको पर्खाईमा रहेका यहाँका नागरिकमा आँगनमै हवाईजहाज बसेको देख्ने धेरै रहर छ ।

किन अल्झियो ३८ वर्षसम्म निर्माणको काम ?
तत्कालीन जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि बजेट छुट्याएको थियो । तर, दुर्गम भएका कारण इन्जिनियर जानै मानेनन् । द्वन्द्वका कारण तत्कालीन माओवादीहरूले पनि विमानस्थल निर्माण रोक्न लगाएको स्थानीय बताउँछन् ।
माओवादी जनयुद्धका कारण २०५८ देखि २०६३ सालसम्म यो आयोजनाको कुनै पनि काम अघि बढ्न सकेन । २०६३ पछि निर्माण समिति गठन गर्दै आयोजना अघि बढाउन थालियो । तर, फेरि विमानस्थल स्थानीय दलहरूको आन्तरिक किचलोको शिकार बन्यो ।
निर्माण समितिमा दलका प्रतिनिधिहरू सहभागी बनाइएको थियो । तर, दलका प्रतिनिधिहरूको स्वार्थ भिन्नभिन्न भए । जसले निर्माण अघि बढाउनेभन्दा पनि विमानस्थललाई थला पार्ने काम भएको स्थानीय बताउँछन् ।
दलका प्रतिनिधिहरूको किचलोका कारण अवरुद्ध विमानस्थलको निर्माण २०७१ साउनदेखि अघि बढ्यो । त्यसपछि निर्माण कार्य निरन्तर अघि बढ्यो । जसको परिणाम अहिले धावनमार्गमा कालोपत्रे भएर विमानस्थल सञ्चालनमा आउने अवस्थासम्म पुगेको छ ।











