Logo
Logo

उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?



काठमाडौं । फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल छन् भने उनको ‘को–स्टार’ उपासनासिंह ठकुरी छिन् । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गरेका छन् ।

यी दुईको जोडीलाई दर्शकले समेत रुचाएका छन् । अभिनेत्री ठकुरीले ‘डेब्यु’ फिल्मदेखि नै आफ्नो उमेर समूहको अभिनेतासँग नदेखिएको बताइन् ।

‘डेब्यु फिल्म ड्रिम्समै अनमोल केसी मभन्दा पाँच वर्ष जेठो हुनुहुन्थ्यो । त्यसपछि दयाहाङ राई, सौगात मल्लसँग काम गरेँ। मलाई उमेर अन्तरले असर गरेको छैन । उहाँहरूको अनुभवले सिक्ने अवसर पाएकी छु’, अभिनेत्री ठकुरीले भनिन्, ‘अभिनेत्रीलाई आफ्नै उमेर समूहको को–स्टार पाउन सहज छैन । यद्यपि उमेर अन्तर भने मैले अभिनय गरेका कुनै कलाकारमा देखिएको छैन ।’

अभिनेत्री ठकुरीझैँ साम्राज्ञी आरएल शाहले पनि अभिनेता केसी र सिग्देलसँग काम गरिसकेकी छन् । उनी अभिनित पछिल्लो फिल्म ‘ह्यारी कि प्यारी’ मा जोडी हास्यकलाकार जितु नेपाल छन् ।

अभिनेता सिग्देलसँग स्क्रिन सेयर गर्दा नै उनले विभिन्न प्रतिक्रिया पाएकी थिइन् । ‘हामीले पर्दामा भूमिका निर्वाह गर्छौं । त्यसैले गर्दा मलाई उमेर अन्तरले फरक पार्छजस्तो लाग्दैन । यद्यपि सुहाउँदो भने हुनुपर्छ’, अभिनेत्री शाहले भनिन् ।

प्रतिक्रिया दिनुहोस्