
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाकाे आज (शनिबार) दिउँसो १ बजे बस्ने बैठकबाट उपसभामुख चयन गर्न लागेको हो ।
उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले मनोनयन दर्ता गराएका छन्। शुक्रबार अपराह्न चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सांसद रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी नेपाली कांग्रेस सांसद यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।











