
काठमाडौं । एक महिने माधवनारायण स्वस्थानीका ब्रतालुहरुले आज (शनिबार) बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन्।
पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू शुक्रबार साँझ पशुपतिनाथ आएका हुन् । पौष सुक्ल पुर्णिमादेखि सुरु भउको स्वस्थानी ब्रतका ब्रतालुले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्।
पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातरगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ ।
मन्त्रोच्चारण गरेपछि शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ ।
एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्।














