काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद्को कामलाई व्यवस्थित गर्न संसदीय क्यालेन्डर बनाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले संसद्लाई आक्षेप, व्यंग्य र राजनीतिक खिचातानीको थलो नबनाउन आग्रह गरे ।

श्रेष्ठले भने, ‘संसद्का कामलाई व्यवस्थित गर्न संसदीय क्यालेन्डर बनाऔं, प्राथमिकता तय गरौं र त्यसको पालना गरौं । यसो भयो भने सदन समयसीमाभित्र बाँधिनेछ । हामी नागरिकप्रति उत्तरदायी बन्नेछौं, स्वमूल्यांकनको आयाम बन्नेछ । हामी गर्न भनेर आएका छौं, काम गरौं । तर यो गरिमामय सदनलाई आक्षेप, व्यंग्य र राजनीतिक खिचातानीको थलो नबनाऔं ।’
उनले सबैले प्रशस्त वाचा र प्रतिबद्धताहरू गरेर आए पनि त्यसका लागि स्पष्ट मार्गचित्र कसैसँग पनि नभएको बताए । ‘हामीसँग प्रशस्त वाचा र प्रतिबद्धताहरू छन्, तर स्पष्ट मार्गचित्र छैन । मैले संसद्को यो छोटो यात्रामै अनुभव गरेको आधारमा भन्दा हामीले कहिले के गर्ने भन्ने समयको निश्चितता छैन’, उनले भने ।
‘हाम्रो संरचना बाहिरबाट हेर्दा स्पष्टसँग देखेको रहेनछु । जनमुखी नतिजा नआएको देखेर हामी निराश भइरहेका थियौं,’ उनले भने, ‘तर सिस्टम भित्रैबाट ध्वस्त भइसकेको रहेछ ।’











