Logo
Logo

छैटौं ‘सम्मान मिस लिम्बू’का लागि आवेदन खुला



काठमाडौं । ‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला भएको छ । आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

‘बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘मिस लिम्बू–२०७९’का लागि नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, युके र हङकङमा पनि अडिसन हुने आयोजकले जनाएको छ । लिम्बू समुदायको बसोबास रहेको स्थानलाई मध्येनजर गर्दै हङकङ, युके र भारतको सिक्किम र दार्जिलिङमा पनि अडिसन लिने भएको आयोजक संस्थाका अध्यक्ष एवं गायक भिम लिम्बूले जानकारी दिए ।

उनका अनुसार नेपालको काठमाडौंमा फागुन ६ गते र धरानमा माघ २८ गते अडिसन हुने भएको छ । तर, सिक्किम, दार्जिलिङ, युके र हङकङमा भने आवेदन दिनेको संख्या हेरेर अडिसनको मिति तय गरिने आयोजकले जनाएको छ । ती सबै स्थानबाट प्रतियोगितामा ३० जना युवतीलाई फाइलनका लागि छनोट गरिने आयोजकले जनाएको छ ।

‘मिस लिम्बू’मा पाटिसिपेन्ट हुनका लागि आयोजकले केही निश्चित मापदण्ड तोकेको छ । कार्यक्रमका संसोजक तथा गायक रुकमान लिम्बूका अनुसार प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उतिर्ण १७ देखि २६ वर्ष नकटेका लिम्बू समुदायका अविवाहित हुनुपर्ने छ ।

आयोजकले जानकारी गराएअनुसार ‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएका छन् । साथै, उनीहरुलाई पूर्वमिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबी आङबुङलगायतले व्यक्तित्व विकासबारे ग्रमिङ कक्षा दिनेछन् ।
यस्तै, प्रतियोगितामा विभिन्न १६ वटा सवटाइटल रहने संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ ।

यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफ विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, ‘मिस लिम्बू’को शीर्ष विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधै प्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष भिम लिम्बूको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, समाजसेवी याङ्जोम शेर्पा, तेह्रथुमे ढाका कलेक्शनकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङ, पूर्वमिस लिम्बूहरुलगायतको उपस्थिति थियो ।

प्रतियोगिताका ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पे्रक्षालयमा चैत ११ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्