काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् ।
ओलीलाई भेट्न यादव शनिबार साँझ बालकोटमा पुगेका थिए । सोक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धनलाई बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जनाएको छ ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका छन् ।
जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सामेल भएको छैन । तर, गठबन्धन सरकारले भने जसपाका लागि २ मन्त्रालय खाली राखेको छ । जसपाको प्रतिनिधिसभामा १२ जना सांसद छन् ।











