काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले निर्वाचनको खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई निर्वाचन आयोगले तोकेको जरिबाना मिनाहा गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर महासंघका प्रतिनिधिका नेताले आयोगको जरिबाना गर्ने निर्णयले आतंकित बनाएको भन्दै मिनाहा गर्न माग गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई तोकिएको समयमा बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगद्वारा कारवाही गर्ने भन्ने सम्बन्धमा स्थानीय सरकार र जनप्रतिनिधिहरुको विषयमा सरोकार राख्नु हाम्रो कर्तब्य ठानी स्थानीय तहको निर्वाचनपश्चात ३० दिन भित्र निर्वाचन खर्चको विवरण विविध कारणले नबुझाएको अवस्थामा निर्वाचन आयोग नेपालद्वारा ७ लाख पचास हजारसम्म जरिबाना तिराउने निर्णयको कार्यलाई रोकी मिनाहा गराउनका निमित्त हार्दिक निवेदन गर्दछौं ।’
जरिबाना गर्नुपूर्व निर्वाचन आयोगद्वारा सफाइको मौकासमेत नदिएको भन्दै उनीहरुले महिला, जनजाति, दलित तथा अल्पसंख्यक उमेदवारलाई जरिवानाको रकम जोहो गर्न घरसम्पत्ति नै बिक्री गरी सुकुमबासी हुनुपर्ने अवस्था रहेको बताएका छन् ।















