Logo
Logo

चीनसँग नेकपाको ऐतिहासिक सम्झौता


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


– रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समय नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)सँग ६ बुँदे भाइचारा सम्बन्ध गाँसेर नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा नेपालका कम्युनिष्टहरुले पहिलोपल्ट अन्तरर्राष्ट्रिय रुपमा विश्वसामु स्पष्टरुपमा आफ्नो वैचारिक दृढता प्रकट गरेका छन् ।

उक्त सम्झौता नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनासम्बन्धी निम्न ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

१. उच्चस्तरीय भ्रमण

२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि

३. पार्टी–पार्टी अनुभव आधारित सहयोग आदानप्रदान

४. युवा स्थानीय नेताहरुबीच भ्रमण आदानप्रदान

५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि

६. विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

सोङ ताओ, नेकपा स्कूल विभागले यसै महिनाको ६–७ गते आयोजना गरेको सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेकपा र सिपीसीबीच ‘विचारधारात्मक छलफल कार्यक्रम’मा भाग लिन काठमाडौँ आएका थिए । ताओले उक्त कार्यक्रममा आफ्नो विचार राख्दै भने– ‘माक्र्सवाद जडसूत्रवाद होइन, तथ्यबाट सत्य खोज्ने सिद्धान्त र अभ्यास नै चिनियाँ विशेषतायुक्त चिनियाँ माक्र्सवाद हो, चिनियाँ जनताको पुनरुत्थान हो ।’ ताओले अगाडि भने– ‘नेपालको कम्युनिष्ट पार्टीले बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जुन सिद्धान्त लियो, यसबाट हामीबीच सहकार्यको आधार बनेको छ । दुवै पार्टीले माक्र्सवादको विकासको लक्ष्य लिएका छन् ।’

आर्थिक विकासबारे ताओले भने– ‘उत्पादक शक्तिको विकास, समाजलाई अघि बढाउने महत्वपूर्ण तत्व हो, यही उत्पादक शक्तिको विकासको कारण पूँजीवादभन्दा समाजवाद श्रेष्ठ भएको हो ।’ उनले राष्ट्रपति सी जिनपिङको लाइनअनुसार ‘आर्थिक निर्माण सबै समस्या समाधान गर्ने प्रमुख नीति हो । हामीले ठूलो ऐतिहासिक उपलब्धि हासिल गरेका छौँ, किनभने आर्थिक विकासलाई महत्व दिएका छौँ । चीनले असन्तुलित विकासको समस्या समाधान गर्दैछ र नेपालजस्तै विकासोन्मुख मुलुकको आधुनिकीकरणमा चीनले सघाउनेछ ।’

ताओले अगाडि भने– ‘जनतालाई सेवा दिनु कम्युनिष्ट पार्टीको उद्देश्य हो । माक्र्सले कम्युनिष्ट पार्टीको घोषणापत्रमा सर्वहारा वर्गको चर्चा गर्दा सबै जनताको हितलाई हेरेर गरेका हुन् । जनताकै लागि कम्युनिष्ट पार्टीको स्थापना भएको हो, चीन र नेपाल दुवै देशमा कम्युनिष्ट पार्टीले शासन गर्दैछन्, जनताको जीवनस्तर उकास्नु हाम्रो लक्ष्य हो । सी विचारधाराले जनतालाई मुख्य स्थानमा राखेको छ ।’

ताओले भने– ‘कम्युनिष्टहरुले अरुको हित मात्रै नभएर आफूलाई शुद्धीकरण गर्ने, आफ्नो क्षमता बढाउने र राजनीतिक संस्कार विकासमा जोड दिनु पर्दछ । हामीले भनाइ र गराइमा एकरुपता कायम गर्नुपर्दछ, आफ्नो क्षमता र आत्मसफाइमा ध्यान दिँदै विचारको निर्माण गर्नुपर्छ । पुरानो आस्था नबिर्सिकन आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’

नेकपालाई सघाउने बचन दिँदै उनले भने– ‘हिमालपारिबाट यता आएर हामीले दुई पार्टीबीच विचार आदानप्रदान गरेका छौँ । नेकपा एकताबद्ध भएको छ, हामी पार्टी निर्माणको आदान प्रदान गर्न इच्छुक छौँ । नेकपा स्कूल विभागलाई सिपीसीले सहयोग गर्नेछ । नेकपाको क्षमता, शासनको क्षमता बढाउन सिकाउन सकिन्छ ।’

सोङले चिनियाँ राष्ट्रपति सीले विश्वका सबै सर्वहारावर्गबीच एकताको आह्वान गरेको बताउँदै भने– ‘चिनियाँ जनताको सपना र विभिन्न देशका जनताको सपना एउटै भएको छ । चीनले आपसी हितयुक्त दिगो, समावेशी र सुरक्षित विश्वको प्रयास गर्दैछ । नेपालसँग हातमा हात मिलाएर अघि बढ्ने विश्वास छ ।

नेकपाले सोङ ताओको उपरोक्त विचारलाई हृदयंगम गरी अघि बढेमा नेकपाले आम चुनावताका नेपाली जनतासमक्ष गरेको बाचा अवश्य पनि पूरा हुनेछ । त्यसका लागि पार्टी र सरकार दुवैमा आत्मशुद्धी आवश्यक छ । छोटो समयमै चीन कसरी विश्व आर्थिक महाशक्ति राष्ट्र हुन पुग्यो, उसको अनुभव साझा गरी अघि बढेमा मुलुकलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन सकिन्छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्