Logo
Logo

सीबाट के सिक्ने ?


- शम्भु श्रेष्ठ


– शम्भु श्रेष्ठ
आज अक्टुबर १ तारिख अर्थात्, २०७६ साल असोज १४ गते । आज चीनले जुन समृद्धि हासिल गरेको छ, त्यसको आरम्भ आजकै दिनदेखि ७० वर्ष अगाडि माओले सुरु गरेका थिए । आजकै दिन माओत्सेतुङले जनगणतन्त्र चीनको घोषणा गरेका थिए । पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको पनि ७० वर्ष भएको छ । फर यत्ति हो, चीनमा ७० वर्षसम्म कम्युनिष्ट पार्टीले निरन्तर शासन चलाइरहेको छ । नेपालमा भर्खरै मात्र नेपाल कम्युनिष्ट पार्टीले दुईतिहाइको सरकारको नेतृत्व गरिरहेको छ । यसभन्दा अगाडि धेरै पटक कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरेको अनुभव छ । त्यसमध्ये सम्झनलायक समय भनेको मनमोहन अधिकारीले नेतृत्व गरेको नौ महिने शासन व्यवस्था नै हो ।

शम्भु श्रेष्ठ

नेकपाको दुईतिहाइको सरकार ढाल्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने योजना कतै कुनामा बन्दैछ । प्रतिपक्ष नेपाली कांग्रेसले हिन्दू धर्मको एजेण्डा बोकेर त्यसको सुरुआत गरेको छ । नेपाली जनतालाई सुखसँग बस्न नदिने उद्देश्यले हिजो माओवादीलाई जसले गणतन्त्रको एजेण्डा बोकायो, त्यसैले आज कांग्रेसको काँधमा हिन्दू धर्मको एजेण्डा बोकाइदिएको छ । कुनै पनि देशमा धर्मको एजेण्डालाई प्रमुखता दिनु भनेको त्यो देशमा धार्मिक द्वन्द्व निम्त्याउनु हो । धर्मको राजनीति यति खतरा हुन्छ, आगो निभेर खरानी भइसक्दा पनि भुसभित्रको भ्रुम्रो बलिनै रहन्छ । सायद यही कुरालाई बुझेर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थामाथि नै खतरा आएको संकेत गरेका थिए ।

आधुनिक चीनका निर्माता देङ भए पनि त्यसलाई महाशक्तिको रुपमा स्थापना गर्ने लक्ष्य राष्ट्रपति सी जिनपिङले लिएका छन् । बेल्ट एण्ड रोडमा नेपालसहित १३७ वटा देश जोडिएका छन् । चीनको विकास मोडेल र सहाकार्यका लागि हालै काठमाडौँमा दुईदिने प्रशिक्षण सम्पन्न भयो । एक अर्ब ४० करोड जनसंख्या भएको देश चीनको सबैभन्दा ठूलो सफलता सुशासन र गरिबी उन्मूलन नै हो । चीनले ७० करोड जनतालाई गरिबीमुक्त गरेको छ । अबको दुई वर्षमा समृद्ध चीनको घोषणा सीले गरेका छन् । यता नेपालमा दुईतिहाइको कम्युनिष्ट सरकारले भने नेपालका गरिबलाई परिचयपत्र बाँडेर गौरव गर्दैछ । यसबीच चीनले अर्को चमत्कार कृषि क्षेत्रमा गरेको छ । चीनले विश्वमै २० प्रतिशत जनतालाई खान पुग्ने खाद्यान्न उत्पादन गरेको छ । संक्षेपमा भन्नुपर्दा चीनको यो प्रगति देश र जनताप्रतिको राजनीतिक प्रतिबद्धता नै हो । नेता अनुशासित, स्वच्छ छवि र भिजिनरी भयो भने, देश बनाउन सकिन्छ भन्ने शिक्षा नै सी जिनपिङ विचारधारा हो । त्यसका लागि सीले लेखेका किताब पढ्नु÷प्रशिक्षण लिनु कमरेडका लागि जरुरी छैन । माक्र्सवाद पढेर ७० कटेका नेकपाका नेताहरु माक्र्सवादको अध्ययनमा सीभन्दा कम छैनन् । तर, चरित्र भने फरक छ । हाम्रा नेताहरुको त्यही चरित्रलाई बदल्न सक्यो भने मात्र नेपाली जनताले कम्युनिष्ट पार्टीलाई माया गर्नेछन्, भरोसा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्