Logo
Logo

दशैँको शुभकामना


- दृष्टि न्युज/संवाददाता


हिन्दू धर्मावलम्बी नेपालीहरूको सबैभन्दा महत्वपूर्ण चाड दशैँ सुरु भइसकेको छ । धार्मिक आस्था र भातृत्व विकासको अनुपम संगमका रूपमा मानिने दशैँ भित्र्याउन हरेक घर तम्तयार छन् । दशैँको रौनक चढ्दो छ । तर, बजारको महंगीले भने ढाड सेक्न थालिसकेको छ । दशैँ सुरु हुनुभन्दा महिना दिन अघिदेखि नै बजार कालोबजारियाहरूको चुंगुलमा परेको छ । विशेषगरी निम्न आय भएकाहरू कालोबजारीको मारमा छन् । मूल्यवृद्धिले आक्रान्त छन् । तरकारी, खाद्यान्नजस्ता दैनिक उपभोग्य खाद्यवस्तु हुन् या लत्ताकपडा, बजारमा मनलाग्दी असुली भइरहेको छ । महिना दिनअघिभन्दा तीन सय, चार सय प्रतिशत मूल्यवृद्धि हुँदा पनि नियमनकारी निकायलाई दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । त्यसैले निम्न आय भएका गरिब किसान, मजदुर, मध्यमवर्गीय पेशाकर्मी सबैजसोलाई दशैँ दशा बन्दै गएको छ ।

हुनतः मुलुकमा नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । सैद्धान्तिक रूपले हेर्दा कम्युनिष्ट पार्टी भन्ने बित्तिकै उसको प्राथमिकतामा निम्न आय भएका गरिब, किसान, मजदुर पर्छन् । त्यही ठानेर गत निर्वाचनमा जनताले अभूतपूर्ण समर्थन नेकपामाथि जनाए । आफ्ना दुःखमा सरकार सहयोगी बन्ने ठाने । प्रचण्ड बहुमत दिए । त्यो अभिमतको प्रभावमा नेकपा अहिले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको छ । तर, त्यो कम्युनिष्ट सरकारले जनताको त्यो अपेक्षा पूरा गर्न सकेको छैन । गतनिर्वाचनमा आफूलाई सबैभन्दा बढी विश्वास गरेर बहुमत दिलाएको त्यो वर्गसँग सरकारले सम्बन्ध बिच्छेद गरेजस्तो देखिन्छ । सरकारको प्राथमिकतामा आर्थिक अवस्था कमजोर रहेका निम्नवर्गीय जनता होइन, बिचौलिया, तस्कर, कालाबजारी र दलाल पुँजीपति परेका छन् । बजारमा तिनकै जगजगी छ । मनलाग्दी असुलेर उनीहरू दिन दुई गुणा, रात चौगुणाको दरले ठगीधन्दा चलाइरहेका छन् । तर, मौन बसेर सरकार तिनको लुटलाई संरक्षण दिइरहेको छ । यदि त्यस्तो हुँदैनथ्यो भने, यतिबेला बजार मूल्यमा कम्युनिष्ट सरकारको प्रभाव देखिनुपथ्र्यो । बिचौलिया, तस्कर, कालोबजारी र लुट मच्चाउनेहरू सरकारको निगरानीमा, नियन्त्रणमा हुनुपथ्र्याे । निम्न आय भएकाहरूले पनि सहजताका साथ उपभोग्यवस्तु र लत्ताकपडा खरिद गर्न सक्ने अवस्था बन्नुपथ्र्यो । अनि मात्र हरघरको दशैँ उल्लासमय बन्थ्यो ।

यो समय आफूभन्दा ठूलाबडाका हातबाट टीका थाप्न र आशिर्वाद लिन लाखौँ देसविदेशबाट घर फर्कन्छन् । दैनिक हजारौँले काठमाडौं छाड्छन् । तर, यात्राको सास्ती बयान गरेर साध्य छैन । बाटोको दूरावस्थाले मात्र होइन, यातायात सिन्डिकेटको मारले घर फर्कनेलाई थप पीडा दिइरहेको छ । वर्तमान सरकार गठन भएलगत्तै सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यको पहल थालेको थियो । सरकारले औपचारिक रूपमै सिन्डिकेट अन्त्यको घोषणा ग¥यो । जनताले सरकारको त्यस कामको निकै प्रशंसा गरे । तर, व्यवहारिक रूपमा सिन्डिकेट हट्न नसकेपछि तिनै प्रशंसक जनता विरोधमा उत्रन बाँध्य भएको यथार्थ यतिबेला हाम्रासामु छ । नौबिसेदेखि थानकोटसम्मको यात्रा कहालीलाग्दो नै बनेको छ । यातायातका साधन घण्टौँ जाममा बस्नु पर्दा केही दिनअघि उपचारका लागि काठमाडौं ल्याइँदै गरेका विरामीकै मृत्यु हुन पुग्यो । यातायातको बेथिति र सडकको दूरावस्थाका कारण केही घण्टाको गन्तव्य पुग्न पनि दुई घण्टा लाग्ने गरेको छ । तर, जनताले दिनहुँ भोगिरहेको यो कष्ट हटाउन सरकारको ध्यान पुगेको छैन । यसले पनि जनताको आक्रोश बढाएको छ ।

त्यति मात्र होइन, दशैँ बिदा कटौती गरेर सरकारले थप अलोकप्रिय काम गरेको छ । परम्परादेखि नै दशैँका पाँच दिनसम्म टीका ग्रहण गर्ने गरिन्छ । प्रधानमन्त्री स्वयंले पूर्णिमासम्म टीका लगाइदिने परम्परा छ । टाढाटाढा रहेका आफन्तका हातबाट पनि टीका थाप्न जाने भएकैले सरकारले सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक विदा दिने गरेको थियो । जनताको अप्ठेरोमा सारथी बन्न सकिरहेको छैन । जसका कारण, दशैँजस्तो उत्सवमा पनि जनता उत्साही देखिँदैनन् । यसप्रति सरकार गम्भीर बनोस् । र, आफ्ना कमीकमजोरी सच्याएर साँच्चै कम्युनिष्ट सरकारजस्तो भई जनताको आशाको केन्द्र बन्न सकोस् । कम्युनिष्टको नेतृत्वमा दुईतिहाइको सरकार भएको मुलुकमा जनताले निराश हुनु नपरोस् । नवदूर्गा भवानीले सबैलाई सद्बुद्धि प्रदान गरुन् । बडादशैँको सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्