Logo
Logo

रेकर्ड ब्रेक गर्दै ‘पठान’, तीन दिनमै तीन सय करोडभन्दा बढीको व्यापार



काठमाडौं । अभिनेता शाहरूख खान र दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘पठान’ले तीन दिनमै विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । यससँगै अहिलेसम्म छोटो समयमै सबैभन्दा बढी व्यापार गर्ने हिन्दी फिल्मको रेकर्ड कायम गरेको छ ।

यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको छ भने अन्य भाषाबाट १ करोड २५ लाख कमाइ गरेको छ ।

जनवरी २५ मा ‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार ‘पठान’ले विश्वभरबाट पहिलो दिन १ सय ६ करोड र दोस्रो दिन १ सय १३ करोड रुपैयाँ व्यापार गरेको छ ।

यस्तै, तीन दिनमा घरेलु बजारमा २ सय १ करोड र भारतबाहिर १ सय १२ करोड कलेक्सन गरेको यशराज फिल्म्सलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । अहिलेसम्म यो फिल्मले ३ सय १३ करोड भारतीय रुपैयाँ कमाएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार विश्वका एक सयभन्दा बढी देशका करिब ८ हजार स्क्रिनमा ‘पठान’ प्रदर्शन भइरहेको छ । पठानले विभिन्न रेकर्डसमेत तोडेको छ ।

‘पठान’ एक दिनमा ७० करोड कमाउने पहिलो हिन्दी फिल्म बनेको छ । यशराज ब्यानरमा बनेको फिल्ममध्ये बक्स अफिस कलेक्सनमा ५० करोड नघाउने तेस्रो फिल्म हो ।

यसअघि ‘वार’ ले ५३ करोड र ‘ठग्स अफ हिन्दोस्तान’ ले ५२ करोड कमाएका थिए । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘पठान’मा शाहरूख र दीपिका अलावा जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्