Logo

अब प्रभुपेबाट घरमै बसेर बिराट मेडिकलको टिकट काट्न सकिने


Published On : 3 October, 2019

बिराटनगर । अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ । अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् ।

प्रभु पे मोबाइल वालेटमार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात बिराट मेडिकल कलेजबाट भएको छ । मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एपमार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने बिराट मेडिकल कलेज प्रदेश १ मा पहिलो भएको हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेट सँगको सहकार्यमा सुरु गरेको छ । अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेटमार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक देनिश कार्कि ले जानकारी दिए । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं । अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन् ।’

अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल बालेटबाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए । प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि बिराट अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ । बिराट अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने। त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ ।

यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ । यसगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्