दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षभित्र समृद्ध प्रदेश बनाउने बताएका छन् । शनिबार लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरु छन् । चुनौती पनि त्यत्तिकै छन् । चुनौतीका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ । पाँच वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्नेछौं ।’ उनले संघीयताको मर्मअनुसार प्रदेश सरकारले काम गर्ने बताए । उनले भने, ‘प्रदेश सरकारले नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ ।’
संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेको बताउँदै उनले यस्ता गतिविधिले मुलुकलाई कमजोर बनाउने बताए । मुख्यमन्त्री गिरीले भने, ‘संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ । संघीयताविरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हितविपरीत कार्य हो ।’