Logo
Logo

सुदूरपश्चिम प्रदेशसभा बैठक सारिएकामा कांग्रेसको आपत्ति



दाङ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउने अवस्था आएपछि बुधबार १ बजे तय गरिएको प्रदेशसभा बैठक स्थगित गरिएको छ । बैठक सारिएको प्रति नेपाली कांग्रेसले विरोध जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि प्रदेशसभाको बैठक भोलि बिहीबार १ बजेको लागि तोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी सभामुख भीमबहादुर भण्डारीले बैठक सारिएको भन्दै विरोध जनाएको हो ।

सुदूरपश्चिम कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारुढ दलले आफ्नो कुर्सीका लागि मनलाग्दी गरेको आरोप लगाए ।

सत्तारुढ दलले सर्वदलीय बैठकको निर्णयसमेत लत्याएको बताउँदै उनले भने, ‘हिजोको सर्वदलीय बैठकबाट २ घण्टाका लागि बैठक सार्ने निर्णय भएको थियो । तर, आज सर्वदलीय बैठकको निर्णयलाई लत्त्याउँदै सभामुखले संसदीय मर्यादा विपरीत काम गर्नुभएको छ । यसमा हाम्रो घोर आपत्ति छ । भोलि सभामुखलाई नै गाह्रो होला । आज उहाँ जसरी एकल निर्णय गर्नुभएको छ, भोलि उहाँको निर्णयलाई अन्य दलले कसरी मान्ने भन्ने सवाल आउन सक्छ ।’

बैठक नै एकदिन सार्ने हल्ला भएपछि आफूले सभामुखलाई फोन गरेर नसार्न भनी सचेत समेत गराएको बताउँदै नेता शाहले आउँदो दिनमा सभामुखलाई महँगो पर्ने चेतावनी दिए । मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उनकै आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्