Logo
Logo

पहिलोचोटी आमा भएको त्यो अनुभूति



… कुर्दाकुर्दा त्यो दिन पनि आइपुग्यो । म आमा बन्ने बेला भएछ ! एउटा बेलुकी अस्पताल जान तयार भएँ । घर न घाटको जस्ती मान्छे भएकी थिएँ म । आफू बसेको नरदेवीको कोठा पनि छोडिसकेकी थिएँ– सुशीलाको बच्चा पहिला भएकाले आफ्नो नवजात शिशु लिएर केही समय उनीमात्र कोठामा बस्नुपर्ने भयो ।

मलाई भने अर्को एकजना विद्यार्थी नेता र जिल्ला कार्यकर्ता मित्रको नयाँ डेरामा बन्दोबस्त मिलायो पार्टीले । त्यहाँ आफ्नो भूमिगत श्रीमान् पनि सँगै बस्न मिल्ने छुट्टै कोठा पनि भएकोले र सुरक्षाको हिसाबले पनि ठिकै ठानेर होला पार्टीले त्यतै बस्ने सल्लाह दियो ।

काठमाडौंमा त्यहीँ नजिकै आफन्त भएर पनि बस्न नमिल्ने, अन्य साथीहरुलाई पनि बोलाउन नमिल्ने– त्यो अवस्था यसै पनि सजिलो थिएन । तर त्यो नयाँ डेराका साथीहरुबाट एकदमै न्यानो हार्दिकता पाएँ । त्यहाँ साथीकै बहिनी कला पनि भएकाले धेरै सहज महसुस भयो ।

डाक्टरले दिएको समयभन्दा केही दिन पछि मलाई ब्यथा लागेको संकेत भयो । साथी जमुनाको दाइको ट्याक्सी थियो । बेलैमा अस्पताल पुग्नु राम्रो होला भनेर उनैलाई गुहारेर ट्याक्सी मगाएँ । संगै कोठामा विद्यार्थी नेता दामोदर सापकोटा बस्थे । उनी अभिभावक बने । अनि मेरी साथी जमुना श्रेष्ठले मेरो प्रमुख जिम्मेवार आफन्तको भूमिका निभाइन् ।

मुटुकै टुक्रा एउटा नयाँ जीवनको रूपमा अवतरित भएर ‘च्याहाँ च्याहाँ…’ गर्न थाल्यो । नर्सले बोलेको सुनेँ– ‘ल तपाईँको त छोरी भएछ !’ नवसन्तानलाई पर्खेर बसेको त्यो क्षणमा मेरो मन सारा दुःखबाट मुक्त भएर आनन्दमा डुब्यो एकछिन् । म पहिलोचोटी आमा भएको त्यो अनुभूति बाँड्न मसँग कुनै शब्द नै छैन ।

हामी ‘शान्तभवन’ अस्पतालमा पुग्दा मेटरनिटी वार्डमा टेक्ने ठाऊँ थिएन । बाटो बाटोमा समेत बेडहरु थपिएका थिए । म साथीसँग हाँस्दै गएकोले र ‘अय्या आत्था’ केही नभनेकोले होला मलाई भर्ना लिन नै चाहेनन् । जाँच्दै नजाँची ‘बेला भएको छैन’ भनी फर्काउनै खोजे । अन्तमा आफ्नो व्यथा शुरु नै भैसकेको कुरा गरेपछि बल्लबल्ल भर्ना लिए ।

रातभरि ब्यथा लाग्यो । झनझन् असह्य हुँदै पेट दुख्दै गयो । डाक्टर आएर हेरेकै होइन । खाली विद्यार्थी र नर्समात्र भित्र पस्थे । आवश्यक उपायहरु पनि केही नगरे जस्तो लाग्थ्यो ।

डाक्टरकी श्रीमती थिएँ । तर भन्न मिल्दैन थियो । सर्वसाधारण महिलाले आमा हुन भोग्नैपर्ने प्रसूति व्यथाको अनुभव गरेँ । वरिपरिका सबै नै उस्तै ब्यथामा रोइरहेका थिए, कोही त चिच्याइ नै रहेका थिए । कसैलाई ‘ल छोरा जन्म्यो !’ भन्थे, कसैलाई छोरी … ।

गजबको कोलाहल मिश्रित माहौल थियो, कोही खुसी, कोही दुःखी ! मानवको रुपमा पहिलो चोटी धर्तीमा टेक्ने ठाउँहरुमध्यकै एक । यो विशेष ठाउँको अनुभव सम्भवतः पुरुषहरुले कहिल्यै गर्नै सक्तैन पनि ।

म पहिलो चोटी अस्पतालको शैयामा बसेकी । दुखेर हैरान हुँदा रुन पनि नजान्ने । तै जमुना रातभरि नै साथमा बसिदिइन् मेरो साँच्चैकी अभिभावक भएर । त्यो बेला साथ पाएको त्यो गुनलाई कहिल्यै बिर्सेकी छुइन । त्यो बेलाको हाम्रो शक्ति भन्नु पनि साथीहरु बीचको यस्तै न्यानो एकता र स्नेह नै थियो । दश महिना अगाडि अष्टलक्ष्मीको बच्चा हुँदा म पनि यसै गरी रातभरि कुर्न बसेकी थिएँ ।

भोलिपल्ट बिहान ९ बजेतिर बल्ल डाक्टर देखा परिन् । अनि मात्र सबै प्रक्रिया केही छिटो हुन थाले । एकछिनमै म भित्रैको अर्को ढुकढुकी, मुटुकै टुक्रा एउटा नयाँ जीवनको रूपमा अवतरित भएर ‘च्याहाँ च्याहाँ…’ गर्न थाल्यो । नर्सले बोलेको सुनेँ– ‘ल तपाईँको त छोरी भएछ !’ नवसन्तानलाई पर्खेर बसेको त्यो क्षणमा मेरो मन सारा दुःखबाट मुक्त भएर आनन्दमा डुब्यो एकछिन् । म पहिलोचोटी आमा भएको त्यो अनुभूति बाँड्न मसँग कुनै शब्द नै छैन ।

बिहानै मेरी आमा र दिदी मिठाई र मासु–भात लिएर हेर्न आउनु भयो । बेस्सरी भोक लाग्दो रहेछ, ज्यादै मीठो गरी खाएँ । डाक्टरले सबै कुरा नर्मल भएपनि ब्यथा अलि लामो भएकोले केही दिन अस्पतालमा बस्नुपर्ने भनिन् । प्रसूतिका बेला आमा हुनुको गर्वसँगै जीवनमरणको दोसाँध पनि देखिने रहेछ । अनुभव गरें ।

अस्पतालको निम्ति म कुनै विशेष बिरामी थिइन । जनरल वार्डको सस्तो बेडमा थिएँ । त्यो भिन्दै खालको रमाइलो र नरमाइलोको अनुभव एकैपल्ट भयो । कसैका छोरा जन्मेर हर्षबढाईँ भैरहेको थियो । कसैका भने छोरी भएर आमाहरु दुःखी भएका थिए ।

कसैका श्रीमानहरु आफ्नो सन्तान हेर्न आएका बेला श्रीमतीलाई बेस्सरी माया गरेको देख्न पाएँ । कसैलाई भने लगातार छोरी मात्र जन्माई भनेर हेर्न समेत नआएको पनि सुनें । सत्य कथामा आधारित चलचित्र हेरेझैं भयो ।

सात दिनसम्म म अस्पतामै बसें । साथ दिन पालैपिलो गरी कहिले साथी पूर्णशोभा त कहिले बहिनी पूर्णलक्ष्मी आउँथे । आफू रातभरि निदाउन नसक्ने त्यो बेला साँच्चैका आफन्त भएर बसेका उनीहरुको स्नेह र वास्ता कसरी बिर्सन सक्छु र !

ती सात दिनमा विभिन्न कथा–ब्यथा बोकेका आमाहरुको चित्र मनमा कोरिईरहे । पछि तिनै चित्रहरु शब्दचित्रका रूपमा एउटा लेख भएर प्रकाशित पनि भए ।

आफ्नो मान्छे भने साथीहरुको कोठामा एक्लै छट्पटिएर बसेका थिए । आफू ‘अफ्रिका गएको’ हल्ला पिटाएर भूमिगत भएका थिए । देखा पर्नु खतरनाक हुनसक्थयो । अस्पाताल आउन सकेनन् ।

सातौं दिनमा बल्ल त्यो नयाँ कोठामा पुर्याइएँ म– मेरो मुटुको टुक्रा शिशुसँगै । बल्ल फेरि परिवारको पुनर्मिलन भयो । अर्कै परिवेशमा अर्कै संसारमा । हामी दुवै नवसन्तानका आमाबाबु बनिसकेका थियौँ ।

त्यो बेलाका साथीहरुको सहयोग र प्रेमलाई कहिल्यै बिर्सन सक्दिन । कस्तो न्यानो स्नेह थियो– समाज परिवर्तनका निम्ति समर्पित मनहरुको बीचमा !

बच्चालाई सकेजति माया दिनु थियो । गर्वका साथ जीवनको नयाँ कर्तव्य भन्दै मायाको डल्लोलाई जीउमा टाँसिरहेँ । केही समय सबै खालका जिम्मेवारीबाट अलग्गिएर बसेँ । बाबु भने फेरि आफ्नो जिम्मा निर्वाह गर्न जाने दिन आयो । दुई हप्तापछि नै फर्के आफ्नो कार्यक्षेत्रमा । म चाहिँ आमाको घरमा ‘सुत्केरी छोरी’ भएर पालिन पुगेँ ।

आमा न हो, जस्तो परिस्थिति नाघेर आएको भए पनि, आफ्नो इच्छा विपरित हिंडेकी छोरी भए पनि, आमाले तन मन दिएर नातिनीलाई छातिमा टाँसेर माया दिनु भयो । तीन छाक मासु भात ख्वाउनु भयो । आफै आमा भएपछि आमाको अर्थ पनि अझै स्पष्ट बुझिने रहेछ । आमाप्रतिको सम्मान र माया बढ्ने रहेछ । सिड्गै दुई महिना यसरी आमासँगै बसेपछि ममा फेरि नयाँ काम गर्ने स्फुर्ति बढ्न थाल्यो ।

जीवनको अर्थ र महत्व पनि भिन्दै तरिकाले बुझ्न थालेँ । पहिलेको म र अबको ‘म’ मा धेरै फरक आइसकेको थियो । पहिले स्वतन्त्र ममात्र थिएँ । अब बच्चाप्रतिको प्रेम र जिम्मेवारी पनि प्राकृतिकरुपमा थपिइसकेको थियो …।

प्रतिक्रिया दिनुहोस्