Logo
Logo

पुरानो पुस्ताको जडता र विचारविहीन नयाँ पुस्ता



मानव जीवनमा कुनै चिजले प्रत्यक्ष वा परोक्षरूपमा प्रभाव पार्ने कुनै विषय छ भने त्यो हो, राजनीति । राजनीतिसँग खासगरी आर्थिक, सामाजिक र सांस्कृतिक अवयवहरू जोडिएर आउँछन् ।

जसरी जीवन र प्रेमका बारेमा समान परिभाषा पाइँदैन, त्यस्तै राजनीतिको परिभाषा पनि सर्वव्यापी छैन । कोही यसलाई विज्ञानका रूपमा त कोही कलाका रूपमा विश्लेषण गर्छन् । कसैले नीतिको पनि मूलनीतिका रूपमा त कोहीले फोहोरी खेलका रूपमा ।

खैर, मानव जीवन राजनीतिबाट अछुतो छैन । जसले जेसुकै भनेर परिभाषा र विश्लेषण गरे पनि यसको ऐतिहासिकता, क्रमबद्ध अध्ययन, अध्ययन विधि र परिणामका आधारमा राजनीतिशास्त्रलाई विज्ञान मान्नलाई कुनै संशय राख्नु पर्दैन । यस स्तम्भमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई केन्द्र भागमा राखेर पुराना र नयाँ पुस्ताका बारेमा केही मन्थन गरिने छ ।

जडतामा पुरानो पुस्ता
इमान्दारपूर्वक भन्नुपर्दा आजको दिनमा सबैभन्दा आलोचनाको मुख्य पात्र कोही छ भने त्यो हो, राजनीतिको पहिलो पुस्ता । वि.सं. १९९० को दशकदेखि नेपालमा लोकतान्त्रिकरणको सुरूवात भएको हो । त्यसयता २००७, २०४६, दशवर्षे जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस विद्रोहजस्ता ऐतिहासिक क्रान्ति र आन्दोलनहरूको नेतृत्व यही पुरानो पुस्ताले सम्पन्न गरेको हो । जसलाई नेपाली राजनीतिको ऐतिहासिक युग भन्न सकिन्छ ।

जहानियाँ राणा शासन र शाहवंशीय राजतन्त्रत्मक व्यवस्थाको अन्त्य गरेर गणतन्त्रात्मक व्यवस्थाको स्थापना गरेको हो । यस क्रममा हजारौं हजार मानिसले जीवनको आहुती दिएका छन् । जेल, नेल, निर्वासन, दुःख, संघर्षको कुरै छोडौं ।

जस्तो राजनीतिका बारेमा मान्छेहरूको मतभिन्नता छ, ठीक त्यस्तै हाम्रो मुलुकमा पुराना नेताहरूका बारेमा एकमत छैन । जे होस् पुराना पुस्ताका नेताहरूसँग आन्दोलन र संघर्षको इतिहास जोडिएको छ ।

तत्कालीन शासनविरूद्ध बोल्दा गोली खानुपथ्र्यो । त्यस्तो संगीन अवस्थामा जीवन दाउमा राखेर मुलुकलाई कम्युनिष्ट आन्दोलनतर्फ उन्मुख गराउने कुरा सामान्य होइन ।

आजका दिनसम्म पनि पुराना नेताहरूसँगको उपादेयता सकिएको छैन । किनकि लोकतन्त्र संस्थागत भएको छैन । सन् १९७४ पछिको अवस्थालाई लोकतन्त्रको तेस्रो लहर मानिन्छ ।

यस अवधिमा म्यानमार, अफगानस्तान, पाकिस्तान, सिरिया, लिबियाजस्ता देशहरूको लोकतन्त्र खतरामा परेको विश्लेषण हुन थालेका छन् ।

हाम्रै मुलुकमा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर सार्वभौम संसद्लाई भंग गर्नु, राज्यका सम्पूर्ण निकायहरू आफ्नो कब्जामा लिनु, एकाधिकार र प्रभुत्ववादी प्रवृत्ति देखाउनु, जनमतको खण्डित गर्नुलाई राम्रो भन्न सकिन्न ।

सन् १९५८ मा पाकिस्तानी सेनाको मार्सल ल, १९७५ तिर भारतमा इन्दिरा गान्धीको कदमले लोकतान्त्रीकरणको प्रक्रियालाई अवरूद्ध गरेको थियो । यी र यस्ता घटनालाई बुझेको र अध्ययन गरेको वर्गले पुराना नेताहरूको रूपान्तरणसिहत पुस्तान्तरणमा जोड दिइरहेको पाइन्छ । जुन कुरामा लय, भाव र अर्थ छ ।

तर, जसले आन्दोलन भोगेन, क्रान्तिको गाथा पढेन, राजनीति क्रमबद्ध अध्ययनको सिँढी हो भन्नेसम्मको हेक्का राख्दैन, त्यस्तो वर्गले पुरानो पुस्तालाई अहिल्यै छोड, कि भोलि नै छोड भन्दैछ । जुन कुरालाई ठिक मान्न सकिन्न ।

माथि भनिएझैं रूपान्तरणसहितको पुस्तान्तरण आजको आवश्यकता हो । देश, काल परिस्थिति बुझ्न र समयानुकूल पाइला चाल्न नसक्नु पुराना नेताहरूको कमजोरी हो ।

दोस्रो जनआन्दोपछि मुलुकले लिनुपर्ने लय फरक थियो । मुलुकमा व्यवस्था परिवर्तन त भयो । तर, जनताको जीविकामा देखिने गरी खासै परिवर्तन भएन । पारदर्शिता, जिम्मेवारिता, जवाफदेहितामा पुरानो पुस्ता चुक्यो । जनताको चाहाना र भावनाअनुसार रूपान्तरण र पुस्तान्तरणको पक्रियालाई पूरा गर्न सकेन । पार्टी वा सरकारको नेतृत्व आजीवन आफ्नो हो, अरूले गर्न सक्दैन भन्ने खालको मनोविज्ञान हाबी भयो ।

त्यसपछि पुरानो पुस्तासँग जोडिएको ऐतिहासिकता पक्षमाथि बादल मडारियो । नयाँ पुस्ताका मानिसले घृणाको पात्रका रूपमा बुझ्न थाले । विचार, सिद्धान्त, सामूहिक हित, गतिको नियम, परिवर्तनको मार्ग, जनताको चाहाना, भावना र अपेक्षाअनुसारको डेलिभरी दिन नसकेको कारण पुरानो पुस्तादेखि वितृष्णा बढ्यो ।

परिवर्तनलाई संस्थागत गर्ने र अर्थव्यवथालाई समृद्ध बनाउने जस्तो अहम जिम्मेवारीबाट पुराना नेताहरू च्युत भए । केवल आफू र आफ्नाहरूको भरण पोषणमा लिप्त बनेपछि नयाँ र वैकल्पिक शक्तिहरूको उदय भयो ।

हतारमा नयाँ पुस्ता
माओको एउटा प्रख्यात भनाइ छ– ‘यो संसार तिम्रो पनि हो, हाम्रो पनि हो, आखिरमा यो संसार तिम्रै हो ।’ मतलव वर्तमानका साझेदार र अन्ततः बाँकी संसार युवाकै हो । नयाँ पुस्ताकै हो । यसमा दुईमत छैन । तर, समयको माग र आवश्यकताको नाममा छेउ पार्ने काम राजनीति जस्तो संवेदनशील विधामा सुहाउँदो हुन्न ।

नयाँ पुस्ता अवसरवादी देखिन्छ । नयाँ पुस्तासँग विगतप्रतिको सम्मान गर्ने सामथ्र्य कम देखिन्छ । अवचेतन बढी छ । सचेतना कम छ । ठोस् परिस्थितिको ठोस विश्लेषण गर्ने क्षमता कम देखिन्छ । विगतका आन्दोलनप्रति, क्रान्तिप्रति, जनसंघर्षप्रतिको बुझाइ सतही देखिन्छ ।

खासगरी नयाँ पुस्ता लोकतन्त्रकाप्रति जानकार छैन । लोकतन्त्रका वेभहरूका बारेमा अध्ययनको कमी देखिन्छ । लोकतन्त्रका रिभर्सेजहरूलाई नजरअन्दाज गरिरहेको देखिन्छ । तर, आफूहरू त्यो ठाउँमा पुगेपछि गर्ने के हो ? ठोस जवाफ छैन । दीर्घकालीन कार्ययोजना छैन ।

माथि भनिएका केही सन्दर्भहरूलाई सवालहरूसँग जोडेर हेरौं । नयाँ पुस्तालाई अवसरवादी भन्नुका पछाडि केही कारण छन् । जस्तो कांग्रेसमा गगन थापाहरू पार्टी शक्तिमा पुग्नका निम्ति शीर्ष नेताहरूको दैलो कुर्ने र फेरो समात्नेदेखि फरक कित्तामा पुग्नेसम्मका कामहरू गरिरहेका छन् । राजनीतिमा स्थिरता र निरन्तरता प्रमुख कुरा हो । जुन कुरा युवापुस्तामा सहायक बनेको छ ।

त्यस्तै कम्युनिष्ट पार्टीका युवा नेताहरू घनश्याम, योगेश, रामकुमारीहरूको स्थिति पनि उस्तै छ । यसरी हेर्दा नयाँ पुस्तासँग निष्ठाको राजनीतिक संस्कारको कमी देखिन्छ । पुराना नेताहरूसँग र पुराना पार्टीसँग जोडिएकाहरू युवापुस्ताले आवश्यक र औचित्यको आधारमा नेतृत्व लिन नसक्नु उनीहरूको कमजोरी हो ।

शीर्ष नेताहरूसँग पुस्तान्तरणको सवाल सुनाउनेमात्रै गरिरहेका छन् । खासगरी उनीहरूले रूपान्तरणसहितको पुस्ता हस्तान्तरणको आवाज बोल्नुपथ्र्यो । त्यसो गर्दा पहिलो पुस्ताको सम्मान र गरिमा बच्थ्यो । नयाँ पुस्ताको आगमन सहज हुन्थ्यो ।

वैकल्पिकरूपमा उदाएका नयाँ भनिएकाहरू झन् स्टन्टबाज पुष्टि भए । उनीहरूसँग त दर्शन नै छैन । विचार नै छैन । सिद्धान्त नै छैन । नयाँ आशावादको जन्म गराएरमात्रै हुन्न, त्यो आशावादलाई जगाएर अघि बढ्न सक्ने विचारधारा हुनुपर्छ । पपुलारिजमले केही समयका लागि जनतालाई झुक्याउन सकिएला । तर, कालान्तरमा जनताले सत्य थाहा पाएपछि त्यो स्टन्टको पर्दाफास हुन्छ ।

खासगरी वैकल्पिक भनिएकाहरूको एउटा खुट्टा डुङ्गा र अर्को खुट्टा ढुङ्गामा देखिन्छ । मुखले लोकतन्त्र भने पनि उनीहरूका चरित्र र प्रवृत्ति लोकतन्त्रलाई मास्ने खालका छन् । अरूलाई नैतिकताको पाठ सिकाउनेहरू नै फ्रड देखिएका छन् । जुन कुरा लोकतन्त्रका निम्ति मान्य छैन । आफ्ना गल्तीहरूको ढाकछोप गर्नका निम्ति मिडियाप्रतिको बुझाइ अनि निर्मम प्रहारलाई राम्रो भन्न सकिन्न ।

अन्त्यमा, पुरानो पुस्ताले यथास्थितिवादी सोच त्याग्नुपर्छ । नयाँ भनिनेहरूले परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्छ । खासगरी लोकतन्त्रलाई सुदृढीकरण गर्ने, लोकतान्त्रिकरणको प्रक्रियालाई तीव्र पार्ने, इतिहासलाई सम्मान गर्ने, विगतको समीक्षा गरेर पाठ सिक्ने काम गर्ने हो भने राष्ट्र निमार्णको अभियान द्रुत बन्छ ।

विद्यमान संविधानलाई कार्यान्वयन गर्न नयाँ पुस्ताको इमान्दारिता चाहिन्छ । संविधानको कार्यान्वयन नयाँ पुस्ताको कर्तव्य र दायित्व हो । अनि मात्रै लोकतन्त्रको झण्डा उभिरहन सक्छ । समाजवादको यात्रा अघि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्