Logo
Logo

प्रदेशको सुरक्षामा ध्यान दिन मुख्यमन्त्री गिरीको निर्देशन



फाइल तस्विर

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको शान्ति सुरक्षाको स्थिति सुधार्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् । प्रदेश सुरक्षा समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले प्रदेशको शान्ति सुरक्षाको अवस्था खलबलिन नदिन सबै पक्ष चनाखो हुनुपर्ने बताए । उनले भने, ‘नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको दायित्व हो । यो कुरा हामीले भुल्नु हुँदैन ।’

प्रदेशका केही जिल्लाको शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ निगरानी बढाउन सुरक्षा संयन्त्रले निगरानी बढाउनुपर्ने बताए । उनले प्रदेशका बाँके, बर्दिया, कपिलवस्तुलगायत भारतीयसँग सीमा जोडिएका जिल्लामा निगरानी बढाउन निर्देशन दिए ।

प्रदेशमा क्यासिनो संस्कृतिले विकृति फैलाइरहेको जनगुनासो आइरहेको बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘बाँकेलगायतका जिल्लामा क्यासिनो संस्कृति भित्रिएको र यसले विकृति फैलाइरहेको चौतर्फी गुनासा आइरहेका छन् । यसको रोकथामका लागि निर्माण भएको कानूनको कार्यान्वयन गर्नुहोला ।’

त्यसअवसरमा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव खलबलिने घटना रोकथाम गर्नतर्फ सुरक्षा संयन्त्र लाग्नुपर्ने बताए । बैठकमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीषक टेकप्रसाद राईले सीमावर्ती क्षेत्रमा डकैती बढ्दै गइरहेको बताएका थिए ।

उनले बाँके, बर्दिया, कपिलवस्तुलगायतका सीमावर्ती क्षेत्रमा गुण्डागर्दी, लागुऔषध ओसारपसार, चेलीबेटी बेचबिखनलगायतका घटना बढिरहेको भन्दै यसको रोकथामका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्