Logo
Logo

जापानको योगोसिका सिटी र भरतपुरमहानगरबीच आपसी सहयोग आदनप्रदानसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


चितवन । जापानको योगोसिका सिटी र भरतपुरमहानगरबीच आपसी सहयोग आदनप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज भरतपुर महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच जापानको योगोसिका सिटी र भरतपुरमहानगरबीच सम्झौतामा हस्ताक्षर भएको छ। सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र योकोसुका सहरका मेयर कात्सुआकी कमीजीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेस सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याय, महानगरपालिकाका महाशाखा प्रमुखहरू, जापानी प्रतिनिधिमन्डलका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र योगोसिका सिटीका मेयर कात्सुआकी कमीजीले सम्झौता पत्र एक आपसमा आदान प्रदान गर्नुभयको थियो ।

जापानी मेयर कात्सुआकी कमीजीलले गौतम बुद्धको देशमा आउन पाउँदा अत्यन्तै हर्सित भएको बताउनुभयो । आफ्नो महानगर र भरतपुर महानगरपालिकाको बीचमा भौगोलिक समानता भएको आफुले महसुस गरेको उहाँले बताउनुभयो । आफ्नो सहरमा समुन्द्र पहाड र समथर भूभाग रहेको र औद्योगिक विकाससंगै पर्यटनको क्षेत्रमा अग्रणी रहेको बताउँदै भरतपुरबाट सिकेर आफ्ने सहरमा केही नयॉ अनुसरण गर्न आतुर रहेको उहाँको भनाइ थियो ।

भरतपुरलाई आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै आज सम्पन्न दुइ पक्षीय सहयोग आदनप्रदान सम्बन्धी सम्झौता कोसेढुड्गौ हुने बताउँदै यसका आधारमा आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापानको योकोसुका सहरका मेयर श्री कात्सुआकी कमीजी तथा उहाँसँग पाल्नुभएका, महानिर्देशक श्री युनोदान आइसाओ, निर्देशक श्री नाइटो काजिया, सुपरीवेक्षक श्री नाकाजिमा नाओकीज्यूलाई स्वागत गर्नुभएको थियो । प्रमुख दाहालले जापानको टीम भरतपुर आउनु हाम्रा लागि अत्यन्त खुसीको खबर भएको बताउनुभयो ।

‘जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध धेरै लामो छ र पछिल्लो समयमा यो थप प्रगाढ हुँदै गइरहेको छ। मित्र राष्ट्र जापान नेपालको एक असल मित्र हो। मित्रराष्ट्र जापानसँग दौत्य सम्बन्ध भए देखिनै जापानले नेपालको आर्थिक, सामाजिक, पूर्वाधार विकासका साथै साँस्कृतिक सम्बर्द्धनको क्षेत्रमा उल्लेख्य र नेपाली जनताको मन छुने सहयोग गरिरहेको छ’ प्रमुख दाहालले भन्नुभयो, ‘जापान सरकारले पछिल्ला दिनहरुमा दक्ष एवम् अर्धदक्ष कामदारहरु लागि उनीहरुलाई सीप बिकास र रोजगारीको अबसर समेत प्रदान गरिरहेको छ।’

महानगर प्रमुख दाहालले दुई शहरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावको हार्दिक स्वागत गर्दै यसलाई छिटै मूर्तरुप दिन कानुनी र प्रक्रियागत तयारी पुरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हामी दुई सहरबिच भगिनी सम्बन्धसम्म कायम गर्ने लक्ष्य लिएका बताउनुभयो । ‘भरतपुर महानगरपालिका नव निर्माणको प्रकृयामा छ। भरतपुर महानगरपालिका स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिको क्षेत्रमा अग्रणी छ।

हामी यस महानगरपालिकाको समग्र विकासलाई यहाँहरुको योकोसुका सहरसँग सहकार्य गरेर विकास निर्माण र समृद्धिमा एकले अर्कोसँग सहकार्य गरेर अगाडी बढ्न चाहन्छौँँ’ प्रमुख दाहालले भन्नुभयो, ‘विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज हाम्रो महानगरपालिकासँग जोडिएको छ। एक सिँगे विश्व प्रसिद्ध गैंडाको केन्द्र पनि हामीसँगै छ। हामी यसलाई पर्यटनको प्रमुख आकर्षण बनाउन चाहन्छौँ।’

कार्यक्रममा सांसद कृष्ण भक्त पोखरेलले दुई सहरबीच सम्पन्न दुई पक्षीय सहयोग आदान प्रदानसम्बन्धी सम्झौताले भरतपुरको समग्र विकासमा महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्