Logo
Logo

भारतका ५ पूर्वसेनाध्यक्ष एकसाथ काठमाडौं आउँदै



काठमाडौं । भारतीय स्थल सेनाका पाँच जना पूर्वप्रमुख एकसाथ नेपाल आउने भएका छन् ।

नेपाली सेनाको स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा भाग लिन पूर्वप्रमुखहरु एकसाथ नेपाल आउन लागेका हुन् ।

हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइने गर्छ । यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ । जसमा भारतका बहालवाला सेनापतिसहित ११ पूर्व सेना प्रमुखहरुलाई नेपाली सेनाले आमन्त्रण गरेको छ ।

आमन्त्रण गरेका ११ मध्ये पाँच पूर्वभारतीय सेनाध्यक्ष नेपाल आउने तय भएको नेपाली सेनाले जनाएको छ । काठमाडौं आउने तय भएका भारतीय सेनाका पूर्व प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे छन् ।

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो । यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ । फागुन ७ गते जंगी अड्डामा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने तय भएको छ ।

७ गते नै नेपाली सेनाको मुखपत्र सिपाही विमोचन गरिनेछ। यस्तै सैनिक इतिहाससम्बन्धी पुस्तक पनि विमोचन गरिने सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्