Logo
Logo

गणेश पाण्डेको ‘को-हजबेन्ड’ विश्वका विभिन्न फिल्म महोत्सवमा छनोट



कठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनोट भएको छ ।

भारतको केरलामा यही फेब्रुअरी २० देखि २३ तारिखसम्म हुने ‘साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव’, बेलायतको लण्डनमा २० फेबु्रअरीदेखि ५ मार्चसम्म हुने ‘लण्डन माउेन्टन फिल्म महोत्सव’, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे ओन्टारियोमा हुने ‘गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ र युरोपियन मुलुक स्लोभाकियामा आयोजित ‘टाट्रास अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘को–हजबेण्ड’ छनोट भएको निर्देशक गणेश पाण्डेले बताए ।

यसअघि विश्वका दर्जनौँ महोत्सवहरुमा छनोट भइसकेको ‘को–हजबेण्ड’ले गत अगष्ट ४ देखि ७ सम्म अमेरिकाको जर्जियामा आयोजित आठाँै कब इन्टरनेशनल फिल्म फेस्टिवलमा ‘बेष्ट इन्टरन्याशनल डकुमेन्ट्री अवार्ड’ जित्न सफल भएको थियो ।
काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ)बाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्डका रुपमा ‘माउण्ट एभरेष्ट अवार्ड’ जितेको थियो ।

यस्तै, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सवमा ‘एडिम क्रियटिभ पुरस्कार–२०२१’, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ र रसियामा आयोजित अन्तर्राष्ट्रिय ‘कान्स भिडियो फेस्टिबल’मा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’, स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

साइन मिडिया प्रालिको ब्यानरमा बनेको यो वृत्तचित्रको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल रहेका छन् ।

यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका थिए भने संगीत संयोजन संगीतकार जुगल डंगोलको रहेको छ ।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्