Logo
Logo

सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ : मुख्यमन्त्री शाह



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार ५ वर्ष नै निरन्तर चल्ने बताएका छन् । आज (सोमबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार भेटघाटको क्रममा उनले केही दिनमै विश्वासको मत लिने बताए ।

उनले आफुलाई मत दिन सबै दलहरु सकारात्मक रहेकाे बताउँदै विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए । ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौँ’, उनले भने, सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन।’

यस्तै उनले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गरे । ‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन् । फेरि चुनावमा गए जनताले लखेट्छन्’, उनले भने ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए ।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्