Logo
Logo

रोटरीको मिशन साक्षरता


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ३ कात्तिक । विश्वबाटै पोलियो उन्मूलन गर्न सफलता पाएको रोटरी क्लबले सन् २०३० सम्म विश्वबाटै निरक्षरता उन्मूलन गर्ने सोचलाई अगाडि बढाएको छ । नेपालजस्तो गरिबी, पछौटेपन भएको देशमा शतप्रतिशत साक्षरता अभियान सफल पार्नु कम चुनौती छैन । तर, पनि चुनौतीलाई अवसरका रुपमा लिँदै नेपालभरि छरिएर रहेका रोटरी क्लबहरुले यो जिम्मेवारी पूरा गर्नुपर्ने छ । एउटा तथ्यांकका अनुसार ५ देखि १२ वर्ष उमेरका ७ लाख ७० हजार बालबालिका स्कुल जानबाट बञ्चित छन् । यसो हुनुको पछाडि गरिबी र पछौटेपन नै हो ।

नेपाल सरकारले पनि साक्षरता अभियानलाई अगाडि बढाएको छ । त्यो सँगसँगै हरेक बालबालिकालाई स्कुल पठाउन सक्यौँ भने, भोलिको नयाँ नेपाल तिनै कर्णधारले बनाउने छन् ।

रोटरी क्लब अफ काठमाडौँ बेष्टको औपचारिक क्लब भिजिटको अवसरमा प्रमुख अतिथिको तर्फबाट डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । मन्तव्यको क्रममा प्रमुख अतिथि श्रेष्ठले शिक्षाबिना चेतना जागृत हुँदैन, चेतनाबिना सभ्य समाजको निर्माण हुँदैन । त्यसैले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको आधार नै शिक्षा हो भन्नुभयो ।

यसका लागि रोटरी क्लबले ‘ह्याप्पी स्कुल’, टिचर टे«निङ’ र ई–लर्निङजस्ता कार्यक्रमको शुरुआत गरेको बताउनुभयो । गभर्नर श्रेष्ठले यस वर्ष ५ हजार बालबालिकालाई स्कुल पठाउने योजना रहेको बताउँद भूकम्पबाट क्षति भएको स्कुलको पुनःनिर्माणलाई रोटरीले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले साक्षरता अभियान सफल पार्नु हरेक रोटरियनहरुको कर्तव्य भएकोले यस महान् कार्यमा लाग्न सम्पूर्ण रोटरियनहरुलाई आग्रह गर्नुभयो ।

रोटरी क्लब अफ काठमाडौँ बेष्टका अध्यक्ष दिग्विजय विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नयाँ सदस्य रमेश लामा र सुधनरत्न बज्राचार्यलाई प्रमुख अतिथि श्रेष्ठले रोटरीको पीन लगाएर स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा सुप्रिय खत्री, विशेष चापागाईं र दिपसन पन्तलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्