Logo
Logo

कीर्ते काण्डले एआइजी बढुवा अन्योलमा



काठमाडौं । नेपाल प्रहरीमा बढुवाका एक प्रमुख दाबेदार नै अख्तियारको छानबिनमा तानिएपछि एआइजी बढुवा अन्योलमा परेको छ । यसले भावी प्रमुख प्रमुख नियुक्ति प्रक्रिया पनि प्रभावित बनेको छ ।

डिआइजी अशोक सिंह नागरिकता र शैक्षिक प्रमाणपत्रसम्बन्धि गम्भीर विवादमा फसेका हुन् । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयले एकैपटक छानबिन थालेका छन् । सोही कारण एआइजी बढुवाको प्रक्रिया पनि रोकिएको छ ।

एआइजी पूजा सिंहले आइतबार अवकाश पाएपछि एआइजीका पाँच दरबन्दी रिक्त भएका थिए । सिंहको अवकाश लगत्तै बढुवाको प्रक्रिया अघि बढाउने तयारी भए पनि अशोक सिंहको शैक्षिक योग्यता विवादपछि बढुवा रोकिएको स्रोत बताउँछ । डिआइजी सिंहको नागरिकता र र सिटरोलमा भरेको जन्ममिति फरक देखिएको हो ।

सिंहको नागरिकताअनुसार जन्ममिति २०२४ को २२ जेठ देखिन्छ भने उनले प्रहरी प्रधान कार्यालयको सिटरोलमा जन्ममिति १६ पुस २०२५ भरेका छन् । नागरिकताको उमेरअनुसार उनले साढे २६ वर्षमा जागिर खाएको देखिएपछि छानबिन सुरु भएको हो । प्रारम्भिक छानबिनमै गम्भीर विषय देखिएपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले छानबिनका लागि निर्देशन दिएको स्रोत बताउँछ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी किताबखानासँग उनको जन्ममिति, शैक्षिक योग्यता लगायतका कागजपत्र झिकाएर छानबिन थालेको छ । २०५१ सालको चैतमा उनी इन्सपेक्टरमा भर्ना भएका थिए । त्यसबेला सुदुरपश्चिमकै मोतिलाल बोहरा आइजिपी थिए । बोहराले त्यसरी सिटरोलमा फरक उमेर राखेर भएपनि उनलाई भर्ना गराएको आरोप छ ।

नागरिकताको उमेरअनुसार उनले एसएसपीबाटै अवकाश पाउने देखिएको स्रोत बताउँछ । एसएसपीको उमेरहद ५५ वर्ष हो । जुन गत जेठमा नै पुरा भइसकेको छ । आइजिपीको प्रमुख दाबेदारका रुपमा उदाएकोमा बढी महत्वाकांक्षी हुँदा उनको जागिर नै यतिबेला संकटमा परेको छ ।

यसअघि पनि आर्थिक अनियमिततामा मुछिएपछि उनीमाथि छानबिन भई कारबाही सिफारिस भएको थियो । तर, कारबाही रोक्न सफल भएका थिए । अहिले पनि गृहसचिव विनोदप्रकाश सिंहमार्फत छानबिन प्रभावित पार्ने प्रयास गरेको स्रोतले बताएको छ ।

गृह मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री प्रचण्ड तत्कालै एआइजी बढुवाको तयारीमा थिए । तर, सिंहको बारेमा थप बुझेपछि उनी पनि पछि हटेको स्रोत बताउँछ । अघिल्लो कार्यकालमा पनि आइजिपी काण्डमा फसेका प्रचण्ड यसपटक प्रहरीमा राजनीति नगर्ने पक्षमा रहेको बताइन्छ ।

एआइजीका पाँच पदमा २० डिआइजीबीच प्रतिस्पर्धा छ । बरियताअनुसार बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली अहिले अगाडि देखिएका छन् । यद्यपि, चार जना महिला एआइजी बढुवा प्रतिस्पर्धामा रहेकोमा समाबेशी गराउनुपर्ने दबाब पनि सरकारमाथि छ । सरकारले एक जना महिला एआइजी बढुवा गर्ने सम्भावना छ ।

यसरी बढुवामा विवाद हुँदै जाँदा भावी आइजिपी नियुक्ति पनि अन्योलमा परेको छ । हालका प्रहरी महानिरीक्षक सिंह लगायत उनका ब्याचीले १० चैतपछि अवकाश पाउँदैछन् । त्यो अवस्थासम्म आइजिपी नियुक्तिको विवाद बढ्दै गएमा प्रहरीको सेवाहद ३० वर्ष हटाएर अहिलेकै नेतृत्वलाई निरन्तरता दिने सम्भावना समेत छ ।

प्रहरीमा ३० वर्षे सेवाहदका कारण संगठन र देश दुवैलाई घाटा हुँदै आएको छ । अहिलेका महानिरीक्षक तथा एआइजी पनि सेवाहद हटाउन लबिइङ गर्दै आएका छन् । पछिल्लो ब्याचका अधिकांश डिआइजी पनि सेवाहद हटाउनुपर्ने पक्षमा उभिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्