Logo
Logo

मोरङको बेलबारीमा धिमाल संस्कृति प्रदर्शनी गरिँदै



दमक । धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ ।

‘सँस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन पार्कमा हुने कार्यक्रमको लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा दुई हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

प्रदर्शनी अन्तरगत धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर(घुंगी), पायाको बिहा(सुंगुरको मासु), गोरा (रक्सी), हाया (माछा)लगायतका परिकार उपलब्ध हुनेछन् ।

सो अवसरमा धिमाल कलाकारबाट साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । कार्यक्रममा गायिका मेचु धिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल र डान्सर सरस्वति धिमाल लगायतले प्रस्तुति दिने भएका छन् ।

प्रदर्शनीमा गरगहना, पुस्तक, तानबुन्ने, धिमाल समुदायले उत्पादन गर्ने पेटानी लगायतका सामग्री तथा बाध्यवादन समेत प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्