Logo
Logo

राष्ट्रपति सीको प्रतिबद्धता


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


– रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई ‘असाधारण’ स्वागत गरेर नेपालको ‘अतिथि देवो भवः’ अर्थात्, पाहुना देवता हुन् भन्ने हाम्रो परम्परालाई निरन्तरता दिनुभएको छ ।’

राष्ट्रपति भण्डारी सीलाई स्वागत गर्न विशेष विमानको भ¥याङमै पुग्नुभयो । नेपालको राष्ट्राध्यक्ष स्वयं विमानको भ¥याङमै पुगेर राष्ट्रपति सीको स्वागत गर्नु भनेको ‘असाधारण’ स्वागत हो ।

हालै सरकारले पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा दिइएको स्वागत तथा सलामीको परम्पराविपरीत चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत तथा सलामी अर्पण गरिनु पनि ‘विशेष’ स्वागत नै हो । राष्ट्रपति भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली स्वयं तथा मन्त्रिमण्डलका सम्पूर्ण सदस्यहरुद्वारा चिनियाँ राष्ट्रपति सीको स्वागत गरिनुले नेपाल–चीनबीचको गहिरो मित्रता र आत्मियतालाई दर्शाउँछ । सीको बिदाइ पनि यस्तै किसिमको ‘असाधारण’ र अविस्मरणीय रह्यो ।

सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेपश्चात् २३ वर्षपछि राष्ट्रपति सी नेपाल आएका हुन् । यो २३ वर्षमा हवाङ हो र बागमती नदीमा धेरै पानी बगिसकेको छ । यसबीच चीन विश्व आर्थिक महाशक्ति राष्ट्र बन्न उद्यत छ भने नेपालचाहिँ ‘अतिकमविकसित’बाट माथि उक्लिन सकेको छैन । राष्ट्रपति सी आजको विश्वमा शक्तिशाली देशको शक्तिशाली नेताका रुपमा उदाएका छन् । विश्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा सीको कुरालाई बढी सुनिन थालेको छ । विश्व अर्थव्यवस्थालाई नै चीनद्वारा प्रवद्र्धित संघाई को–अपरेशन अर्गनाइजेशन (एससीओ) र एशियन इन्फ्रास्ट्रक्चर बैंक (एआईआईबी)ले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा एशियन डेभलपमेन्ट बैंकलाई चुनौती दिइरहेको छ ।

राष्ट्रपति सी विश्वमा सबभन्दा बढी सुरक्षा चुनौती भएका नेता हुन् । राष्ट्रपति सीको सफल नेपाल भ्रमणले विश्वमै नेपालको उच्च सुरक्षा क्षमता प्रदर्शन भएको छ । हुन त यसअघिका भीभीआईपीको सुरक्षामा पनि नेपाली सुरक्षाकर्मीले आफ्नो अब्बल क्षमता प्रदर्शन नगरेका होइनन् । राष्ट्रपति सीले आफ्नो दुईदिने नेपाल बसाइँको क्रममा खुला हृदयले सहयोगको हात अघि बढाएका छन् । त्यो सहयोग कसरी लिने भन्ने कुरा हामी (नेपाल)माथि निर्भर छ । त्यसबाट हामीले कति फाइदा लिन सक्छौँ भन्ने कुरा हाम्रो इमान्दारिता र प्रयासमा भर पर्छ ।

राष्ट्रपति भण्डारीद्वारा आयोजित रात्रिभोजमा राष्ट्रपति सीले भने– ‘हामीले चीन–नेपाल सीमापार रेलमार्ग सम्भाव्यता अध्ययन सुरु गर्नेछौँ । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौँ । केरुङदेखि काठमाडौँसम्मको सुरुङमार्गको परियोजनालाई अगाडि बढाउन सक्रिय हुनेछौँ । बढीभन्दा बढी नाकाहरु खोली हिमालयन वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्नेछौँ । र, नेपालको भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौँ ।’

राष्ट्रपति सीले नेपाललाई भूजडित बनाउनका लागि स्पष्ट मार्गचित्र दिएका छन् । नेपालले भूजडित गराउने भनेको उत्तर चीनसँग नै हो । दक्षिण भारतसँग त त्यसै पनि जडित नै छ । नेपालका सत्ताधारीहरुले राष्ट्रपति सीको यो मर्मलाई कत्तिको बुझे भन्ने कुरा यसको कार्यान्वयनबाट देखिन्छ । यो राष्ट्रपति सीको नेपालका लागि ठूलो घोषणा हो ।

यस्तै रात्रिभोजमा राष्ट्रपति सीले भने– ‘लुम्विनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्धधर्म मान्ने मान्छेहरुको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्धधर्म अहिले चीनको स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्धधर्म मान्ने चिनियाँ मान्छेहरु नेपालमा पर्यटन गर्नेछन् ।

दक्षिण छिमेक भारतले उसको आर्थिक स्वार्थका कारणले जहिले पनि बुद्ध जन्मस्थलबारे विवाद गरिरहेको सन्दर्भमा सीको यस भनाइले ठूलो अर्थ राख्छ र विश्वभरि नै बुद्धको जन्मस्थलबारे सही सूचना सम्प्रेषण हुन्छ । यसबाट नेपालमा बुद्ध धर्मावलम्बी पर्यटकहरुको गुणात्मक रुपमा आगमनमा वृद्धि हुनेछ भन्ने कुरामा आशा गर्न सकिन्छ ।

राष्ट्रपति सीले नेपाल सरकारलाई चीनसँग गरिएका पुराना प्रतिबद्धताहरु पूरा नभएको सन्दर्भमा झकझक्याउँदै भनेका छन्– ‘म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छाडौँ । हामीले चीनमा पनि यस्तै गरेका छौँ ।’ राष्ट्रपति सीले भने– ‘नेपाल र चीनमा केही समस्या छैन मित्रता मात्र छ ।’ यसबाट स्पष्ट हुन्छ चीनको नेपालप्रति के धारणा रहेको छ भन्ने कुरा ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालय सदस्यहरुसँगको भेटमा राष्ट्रपति सीले भने– चिनियाँ कम्युनिष्ट पार्टीको अनुभवले भन्छ– पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ । यो भयो भने मात्र सीपिसी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ । हामीले कम्युनिष्ट क्रान्तिको आधारमा सत्ता चलाइरहेका छैनौँ । हामीले जनतालाई उपलब्धिहरु दिन नसकेको भए यो सम्भव थिएन ।’

नेकपाले सीको यस विचारलाई कत्तिको गम्भीरतापूर्वक लिएको छ, यो त भविष्यले नै बताउनेछ । नेकपा नामको कम्युनिष्ट हो कि कामको पनि कम्युनिष्ट पार्टी हो भन्ने कुरा यसको व्यवहारबाट थाहा हुनेछ । चीनको समृद्धिलाई नेपाली जनताबीच जोड्न सीले तीन वर्षभित्र खर्च गर्ने गरी ५६ अर्बको सहयोगको घोषणा गरेका छन् । २३ वर्षअघि जियाङ जेमिन नेपाल आउँदा ५६ करोड सहयोग गरेका थिए । अमेरिकाले पाँच वर्षभित्र खर्च गर्ने गरी दिने भनेको ५३ अर्ब मात्र हो । यस्तै नेपाल–चीनबीच विभिन्न २० बुँदे समझदारीमा हस्ताक्षर भएको छ । सीको यस भ्रमणताका नेपालका सबै राजनीतिक दलहरुले विदेशनीतिमा अभूतपूर्व ऐक्यवद्धता प्रकट गरे । जुन मुलुकको समृद्धिको लागि पहिलो शर्त हो ।

मधेसवादी दलहरुबाट हामीलाई उचित ध्यान दिइएन भन्ने गुनासो आएको देखियो । तर, मधेसवादी दलहरुले के हेक्का राख्नु पर्दछ भने मधेस आन्दोलन र भारतीय आर्थिक नाकाबन्दी भएको बेला तराई मधेसको एक दर्जनभन्दा बढी ठाउँमा मित्र राष्ट्र चीनको राष्ट्रिय झण्डा जलाइएको थियो । चीनले यस्ता कुरालाई अत्यन्त गम्भीरताका साथ लिन्छ भन्ने कुरा त राष्ट्रपति सीले काठमाडौँमै चीनलाई विखण्डन गर्न खोज्ने तत्वहरुको ‘हड्डी चकनाचुर पारिन्छ’ भन्ने अत्यन्त कडा अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

भारतीय नाकाबन्दीले मुलुक थिलथिलो भएको बेला प्रधानमन्त्री ओलीले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकाल सन् २०१६ मा चीन भ्रमण गरेका थिए । त्यसैबेला चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर नेपाल चीन सम्बन्धमा जुन नयाँ इतिहासको थालनी गरे, त्यसलाई कार्यान्वयन गर्न राष्ट्रपति सीको यो भ्रमण कोशेढुंगा सावित भएको छ । जसरी सीले खुला हृदयले नेपालतर्फ मित्रताको हात बढाएका छन्, त्यसरी नै ओलीले पनि धक नमानीकन चीनसँग मित्रताको लागि हात बढाएर नेपाल–चीन सम्बन्धमा नयाँ युगको थालनी गरेका छन् ।

राष्ट्रपति सीले नेपाल र नेपाली जनताले हृदयदेखि नै गरेको न्यानो स्वागतको प्रतिउत्तरमा भने ‘नेपाल र नेपाली जनताले आफूप्रति देखाएको सद्भाव र आतिथ्यले आल्हादीत भएको छु । नेपाल र नेपालीको यस्तो आतिथ्य मेरा लागि ऐतिहासिक छ । यो अनुभूति मात्रै गर्ने कुरा हो ।’ सीको यस अभिव्यक्तिले नेपाल–चीन सम्बन्धमा ठूलो अर्थ राख्दछ । [email protected]

प्रतिक्रिया दिनुहोस्