Logo
Logo

राष्ट्रपति सीले दिएको मूलमन्त्र


- दृष्टि न्युज/संवाददाता


२३ वर्षपछि भएको उत्तरको छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको दुईदिने भ्रमणले ऐतिहासिक सम्भावनाहरूको ढोका उघारेको छ । दुईदिने नेपाल भ्रमणका क्रममा दुई देशले विभिन्न २० वटा सम्झौता, समझदारी र पत्राचारहरूमा हस्ताक्षर गरेका छन् । सम्झौता, समझदारीका हरेक बुँदाले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई गति दिने मात्र होइन, नेपालको सन्दर्भमा अभूतपूर्व सम्भावनाका ढोका खोलेका छन् । नेपालले केही वर्षयता चीनतर्फ रेल, सडकलगायत ‘कनेक्टिभिटी’का विभिन्न पूर्वाधार निर्माण गर्ने र उत्तरतर्फ आम सम्पर्क विस्तार गर्ने जुन आकांक्षा राख्दै आएको थियो, त्यस सन्दर्भमा यसपटकको नेपाल–चीन उच्चस्तरीय वार्ताले निर्णायक दिशानिर्देश गरेको छ । राष्ट्रपति सीले नेपाललाई ‘भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउन’ चीनले खुला हृदयबाट सघाउने सकारात्मक घोषणा गरेका छन् ।

द्विदेशीय वार्तामा पूर्वसम्भाव्यता अध्ययन सकिएको केरुङ–काठमाडौं रेलमार्गको अब सम्भाव्यता अध्ययन गर्ने र त्यसलाई निर्माणको चरणमा लैजाने ठोस प्रतिबद्धता पनि आएको छ । साथै, प्रस्तावित रेलमार्गलाई काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म पु¥याउने बारेमा पनि स्पष्टसँग अभिलेखन गरिएको छ । यद्यपि, भौगोलिक दृष्टिले निकै जटिल उक्त पूर्वाधार बन्न निकै समय लाग्ने भएकाले तत्काल केरुङसँगको सम्पर्क सहज बनाउन सुरुङमार्गसहित राजमार्ग निर्माण गरिदिन चीन सरकार तत्पर देखिएको छ । केरुङबाहेक खासा नाका जोड्ने अरनिको राजमार्गको विस्तार र अन्य सीमा सडकहरूको निर्माण गरिदिने सम्बन्धमा पनि सैद्धान्तिक सहमति भएको छ । यसअनुरूप काम अगाडि बढ्यो भने आधा दशकमै नेपालको उत्तरी भेग आर्थिक दृष्टिले सम्भावनायुक्त र चलायमान बन्ने देखिन्छ । साथै हाम्रो आपूर्ति प्रणाली भारततर्फ मात्रै निर्भर हुनुपर्ने बाध्यताबाट पनि मुक्ति मिल्नेछ । चीनतर्फका नाकाको प्रयोगबाट त्यसतर्फका सामुद्रिक र सुक्खा बन्दरगाहसम्म नेपालको पहुँच विस्तार हुनेछ ।

राष्ट्रपति सीको भ्रमणका क्रममा गरिएको अर्को एउटा अर्थपूर्ण घोषणा दुई देशको सम्बन्धलाई अब ‘रणनीतिक साझेदारी’ को नयाँ चरणमा पु¥याउने भन्ने हो । यसअघि चीनले नेपाललाई घनिष्ठ छिमेकीका रूपमा मात्र प्रस्तुत गर्ने गथ्र्यो । यसपटक सम्झौतामै दुई देशकबीचको सम्बन्धलाई रणनीतिक साझेदारका रूपमा व्याख्या गरिनुले पनि यसको महत्व दर्शाएको छ । नेपाल र चीनबीचको सम्बनध र सहयोगको क्षेत्रले भावना र कल्पनाबाट पर हटेर एउटा व्यावहारिक बाटो लिएको यी समझदारीले देखाएका छन् । राष्ट्रपति सीले नेपालसँग निकट सहकार्य र साझेदारी गर्न चीन तत्पर रहेको स्पष्ट सन्देश दिएका छन् । चीनमा शक्तिशाली नेताका रूपमा उदाएका सीले राजनीतिक तहबाट विश्वासको सम्बन्ध अगाडि बढाउन गरेको यो पहलको दूरगामी अर्थ छ । चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालका सामु अवसरको ढोका पनि खोलेको छ, तर त्यसलाई आफ्नो हितमा सदुपयोग गर्न सक्ने वा नसक्ने कुरा नेपालको आफ्नै राष्ट्रिय सामथ्र्यमा निर्भर रहन्छ ।

यी उपलब्धिका बाबजुद अर्को एउटा निकै महत्वपूर्ण सन्देश सीले आफ्नो भ्रमणको दौरान नेपालका प्रधानमन्त्री तथा सत्तासिन दलका शीर्ष नेताहरूलाई दिएका छन् । त्यो भनेको, ‘शासन चलाउन निरन्तर जनहीतमा काम गर्नुपर्छ’ । विशेषतः नेकपाको सचिवालयमा रहेका नेताहरूसँगको सामूहिक भेटमा उनले चीनमा चिनियाँ कम्युनिष्ट पार्टीले एकपटक मात्रै सत्ता कब्जा गरेको तर, यतिका वर्षसम्म निरन्तर शासन गर्न सक्नुको मुख्य कारण जनताको समर्थन नै रहेको स्पष्ट पारेका छन् । हुन पनि, ९ करोड पार्टी सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीले देशका डेढ सय करोड जनसंख्यालाई कुशलतापूर्वक नेतृत्व गरिरहेको छ । पार्टी हरपल जनताको बीचमा छ । पार्टीको साधारण सदस्यदेखि सर्वोच्च नेतृत्वसम्मले कडा अनुशासन पालना गर्ने गरेका छन् ।

आफूलाई सधैँ जनताको बीचमा राख्ने, सादगीपूर्ण जीवन जीउने र हरपल जनताको सेवामै समर्पित हुने नेता–कार्यकर्ताको ठूलो पंक्तिले त्यहाँ कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउन मद्दत गरिरहेको छ । तर, हामी कहाँ अवस्था ठीकविपरीत छ । जनता र पार्टीका नेता–कार्यकर्ताबीच खाडल बढ्दो छ । नाफाखोर, तस्कर, बिचौलिया र नोकरशाही दलाल पुँजीपतिहरूको कठपुतली बन्ने नेताको संख्या ठूलो छ । नेतृत्व स्वयंले प्रणाली, पद्धति र विधि मिच्ने, पार्टी अनुशासनहीनहरूको झुण्डमा परिणत हुने, इमान्दार कार्यकर्ताहरू पाखा पारिने अवस्थाले दिनानुदिन पार्टीलाई जनताबाट टाढा पु¥याउँदै लगेको छ, समाजवादको लक्ष्यबाट भड्काइरहेको छ । यस्तोमा, विशाल चीनका राष्ट्रका सर्वशक्तिमान राष्ट्रपतिले दिएको मन्त्र सम्झिनुमै नेपाल कम्युनिष्ट पार्टीको भविष्य देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्