Logo
Logo

प्रमुख आयुक्तकै सम्धी छानबिनमा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ५ कात्तिक । नवीन घिमिरे प्रमुख आयुक्त भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता निकै बढेको थियो । तर, पछिल्लो समय आयोगको अनुसन्धान र अभियोजन आश्चर्यजनक रुपमा घटेको छ । आयोगभित्र धेरै घटना ‘सेटिङ’ हुन थालेको चर्चा छ ।

पछिल्लो समय आयोगले बालुवाटार जग्गा प्रकरण तथा नेपाल प्रहरीको सामान खरिदको अनियमितता लगायत ठूला अनुसन्धान गरिरहेको छ । बालुवाटार जग्गा प्रकरणमा मुद्दा दायर गर्नैपर्ने बाध्यता आयोगमाथि छ । तर, क–कसलाई मुद्दा चलाउने भन्नेमा आयोगमा ठूलो दबाब छ ।

त्यस्तै नेपाल प्रहरीको सामान खरिदमा भएको अनियमितताको अनुसन्धानमा पनि प्रमुख आयुक्त घिमिरे संकटमा परेका छन् । किनकि सुक्ष्म अनुसन्धान गर्दा त्यसमा आफ्नै सम्धी समेत जोडिने प्रबल सम्भावना छ । उनका सम्धी पवन खरेल नेपाल प्रहरीका पूर्व डिआईजी हुन् । उनी प्रबन्ध शाखाको प्रमुख हँुदा नै गुणस्तरहीन सामानहरु खरिद भएको थियो । त्यससम्बन्धी फाइलहरु अख्तियारले लगिसकेको छ ।

प्रकाश अर्याल प्रहरी महानिरीक्षक हुँदा खरेल प्रबन्ध शाखाको प्रमुख थिए । प्रबन्ध शाखाबाटै प्रहरीका सबै खरिद हुन्छ । आफू विवादमा पर्ने देखेपछि अर्यालले अन्तिम समयमा टेन्डर नै रद्द गरिदिएका थिए । ठेकदार कम्पनीले कमसल सामान दिएपछि टेण्डर रद्द गरिएको थियो । पछि त्यही सामान प्रहरीले सेटिङमा खरिद गरेको उजुरीपछि आयोगले छानबिन थालेको हो । त्यसपछि सामान खरिद गर्दा पनि खरेल नै प्रबन्ध शाखामा थिए । अनुसन्धानमा आबद्ध आयोगका एक कर्मचारीका अनुसार प्रमुख आयुक्तकै सम्धी परेकाले यो अनुसन्धानमा तत्काल प्रगति हुने देखिन्न ।

प्रतिक्रिया दिनुहोस्