Logo
Logo

किन चिढिए ओलीसँग प्रचण्ड ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ५ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङको ऐतिहासिक भ्रमणबाट सिंगो देश उत्साही भइरहँदा प्रमुख सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीकै शीर्ष नेता उत्साहमा पानी खन्याउन तल्लिन देखिएका छन् । ऐतिहासिक भ्रमण सकेर राष्ट्रपति सी फर्किएको साता दिन नबित्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सार्वजनिक रूपमै घोचपेच सुरु भएको छ । यी दुई प्रमुख नेताबीचको सम्बन्धका आएको दरारले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि उत्पन्न उत्साहलाई निराशामा परिणत गरेको छ । दुवै नेताले पार्टी र सरकार सञ्चालनका सवालमा राष्ट्रपति सीले दिएको महत्वपूर्ण सुझाब एउटा कानले सुनेर अर्कोले उडाएकोजस्तो भान भएको छ ।

प्रतिकूल वातावरण देखे तत्कालै जोसुकैसँग जे जस्तो पनि सहमति गर्ने तर, अनुकुल हुनु बित्तिकै सहमति कार्यान्वयनमा बेवास्ता गर्ने ओलीको स्वभाव रहेको भन्दै प्रचण्ड चिढिएका हुन् । विशेष गरी पछिल्लो अन्तर्वार्ताका क्रममा ओलीले सरकार परिवर्तनका विषयमा राखेका अभिव्यक्तिले प्रचण्ड सशंकित बनेका छन् । त्यस्तै सभामुख चयनका क्रममा पूर्वसहमति कार्यान्वयन नहुने सम्भावना बढेबाट पनि प्रचण्ड झस्किएका छन् । गत साउनमै पनि महाधिवेशन नहुँदासम्म ओलीले सरकार र दाहालले पार्टी सञ्चालन गर्ने सहमति भएको थियो । त्यस्तो सहमति कार्यान्वयनमा आउन नसक्दा प्रचण्ड चिढिएका छन् ।

‘चिनियाँ कम्युनिष्ट पार्टीले एकपटक मात्र सत्ता कब्जा गरेको हो । त्यसपछिका वर्षमा निरन्तर जनताको सेवा गरेकै कारण हामी टिकेका हौँ,’ गत २६ असोजमा नेपाल कम्युनिष्ट पार्टीको सबैभन्दा माथिल्लो निकाय केन्द्रीय सचिवालयका नेताहरूसँगको सामूहिक छलफलमा चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको सुत्र राष्ट्रपति सीले यसरी सुनाएका थिए । उनको थप भनाइ थियो, ‘पार्टीबाट निर्णय भएपछि नौ करोड पार्टी सदस्यले कार्यान्वयन गर्ने वातावरण बनाएका छौं । अनि, सिंगै पार्टी जनताको सेवामा खटिएको छ । यदि प्रत्येक पार्टी सदस्य जनताको सेवामा खट्ने वातावरण बनाउन नसकेको भए एक अर्ब ६० करोड जनतालाई खुसी बनाउन र सन्तुष्ट राख्न सम्भव थिएन ।’

राष्ट्रपति सीसँगको छलफलमा पार्टी अध्यक्ष प्रचण्डसहित पूर्वप्रधानमन्त्री रहिसकेका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्यहरू वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल सहभागी थिए । राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको सफलतामा फलामे अनुशासन, विधि, पद्धति, आर्थिक तथा सबैखाले विकास निर्माणसहित सुशासन, स्वच्छता र पारदर्शिताको महत्वपूर्ण सूत्र रहेको बताएका थिए । पार्टी अनुशासनमा उनको निकै जोड थियो । पटकपटक उनले कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता अनुशासित हुनुपर्ने बताएका थिए । छलफलको दौरान उनले नेपालका तत्कालीन दुई कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता गरी एउटै कम्युनिष्ट पार्टी बनाएकोमा आफूलाई निकै खुसी लागेको भन्दै बधाई पनि दिएका थिए । तर, राष्ट्रपति सीले दिएका सुझाब र पाएको बधाईको महत्व भुल्दै नेकपाका नेता पुनः दरार उत्पन्न गर्नतिर लागेका छन् ।

सी भ्रमणपछि पहिलो सार्वजनिक टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले दुईवटा दैनिक अखबारमा लामो अन्तर्वार्ता दिएका छन् । ती अन्तर्वार्तामार्फत् उनले आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्डमाथि कडा टिप्पणी गरेका छन् । अर्कोतर्फ प्रचण्डले पनि सार्वजनिक कार्यक्रमहरूबाटै प्रधानमन्त्री ओलीमाथि कटाक्ष गरिरहेका छन् । धनगढीदेखि चितवनसम्म पुगेर उनले कम्युनिष्ट पार्टीका नेताहरू सत्तामा पुगेपछि कम्युनिष्ट बनिरहन नसकेको चर्चा गरेका छन् । त्यति मात्र होइन, प्रधानमन्त्रीसँगको दूरी बढेसँगै प्रचण्डले सचिवालयका सदस्यहरूसँगको भेटवार्ता बढाएका छन् । कतिसम्म भने प्रचण्ड रक्षामन्त्री पोखरेलको निवासमै पुगेर छलफल गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटवार्तालाई पनि उनले निरन्तरता दिइरहेका छन् ।

प्रचण्डमाथि ओलीका बाण

एक अन्तर्वातामा प्रधानमन्त्री ओलीले एकताको भावनामा पञ्चर गराउने काम पार्टीभित्रैबाट भएको बताए । त्यति मात्र होइन, उनले पार्टीमा दुई अध्यक्ष भए पनि एउटा ‘सिनियर’ अर्को ‘जुनियर’ रहेको तर, प्रचण्डलाई आफूले उपाध्यक्षका रूपमा नभई पार्टी अध्यक्षकै हैसियतमा काम गर्न छुट दिइरहेको बताएर प्रचण्डमाथि निशाना ताके । उनी त्यतिमा मात्र रोकिएनन् सरकारको नेतृत्व आधा–आधा गर्ने समझदारीको विषयमा प्रचण्डले अनावश्यक विवाद निकाल्ने गरेको आक्षेप पनि लगाए । ‘यदि कुनै समझदारी छ भने त्यो समझदारी आएका बेला (कार्यान्वयन) हुने होला नि ? कुनै, केही हुनुछ भने त त्यतिबेला कुरा (समय आएपछि) हुन्छ । अहिल्यै छोड्ने, भरे नै छोड्नेजस्तो, लखेटेर हटाएजस्तो त होइन होला ? मलाई लखेटेर हटाउन सायद सम्भव पनि छैन होला । समझदारीका साथ हुने अपेक्षा हो भने यो समझदारीका साथ हुने अपेक्षाको यत्रो चर्चा कसरी भयो ?’ उनको प्रतिप्रश्न थियो । अन्तर्वार्ताकै क्रममा उनले गत निर्वाचनमा आफ्नो एकल लिडरसिपमा पार्टीले बहुमत प्राप्त गरेको भन्दै जसले जे भने पनि फरक नपर्ने बताए । ‘यो सरकार अरू कसैलाई हेरेर, अरू कसैको ‘लिडरसिप’ मा विश्वास गरेर बनेको हो र ? यो परिस्थिति मेरो ‘लिडरसिप’ मा बनेको हो ।’ सरकार परिवर्तनको विषयमा थप चर्चा गर्दै उनले जनताको अभिमतलाई अवमूल्यन गर्ने कुरा राजनीतिक ‘लिडर’हरूले बोलेर हिँड्दैनन् भन्दै प्रचण्डमाथि थप कटाक्ष गरेका छन् ।

ओलीमाथि प्रचण्डको प्रहार

प्रचण्डले पनि पार्टीभित्र अराजक गतिविधि मौलाउन लागेको टिप्पणी गरेका छन् । एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको भन्दै उनले त्यसलाई डरलाग्दो रोगका रूपमा चित्रण गरेका छन् । नेकपा चितवनले आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डले पार्टीभित्र अनुशासन र संस्कार हराउन थालेको बताए । उनले विगत नबिर्सन पनि नेताहरूलाई सचेत गराए । ‘पञ्चायतकालमा म कस्तो थिएँ ? के सोच्थेँ ? कसरी काम गर्थें ? ४६ सालपछि म कस्तो भएँ ? जनयुद्धको बेला म कस्तो थिएँ ? जनआन्दोलनको बेला कस्तो थिएँ ? अहिले शान्ति सम्झौता र संघीय गणतन्त्र आएपछि कम्युनिष्ट पार्टी देशको ठूलो बनेपछिम कस्तो बन्न थालेको छु ?’ आफ्नै समीक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘करु कतै हेर्नु पर्दैन म पहिले कस्तो थिएँ, अहिले कस्तो छु भनेर हे¥यो भने पुग्छ ।’ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सन्दर्भसमेत कोट्याउँदै उनले राष्ट्रपति सीले पार्टी एकता गरेकोमा धन्यवाद दिएको तर, दलभित्रको बेथितिप्रति संकेत गरेको आफूले पाएको बताए । प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टले आफ्नो रुप बदल्ने गरेको टिप्पणी गर्दै पार्टी नेतृत्वप्रति औँला उठाए ।

सार्वजनिक रूपमा यस्ता अभिव्यक्ति दिइरहेका प्रचण्डले पछिल्लो समय पार्टी सचिवालय सदस्यहरूसँग पनि बाक्लै भेटघाट गरी पार्टी एकताको क्रममा भएका समझदारी कार्यान्वयनको प्रसंग कोट्याइरहेका छन् । त्यसोतः प्रधानमन्त्री ओलीले आफू लक्षित अभिव्यक्ति दिएकै दिन शनिबार उनी सिन्धुपाल्चोकतिर लागेका थिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित सिन्धुपाल्चोक गएका प्रचण्ड आइतबार फर्किएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । आइतबार करिब दुईघण्टा बालुवाटारमा बिताएका प्रचण्डले ओलीसँग केहीबेर मात्र कुराकानी गरेका थिए । लामो समय उनी प्रतीक्षामै बस्नु परेको थियो ।

सन्देहका कारण

पुराना सहमति कार्यान्वयनमा ओलीको उदासिनताले प्रचण्ड चिन्तित देखिन्छन् । आफूनिकट नेताहरूसँग प्रचण्डले ओलीले पटकपटक सहमतिको कार्यान्वयन गर्ने बाचा गर्ने र पर सार्ने काम गर्दै आएको बताउने गरेका छन् । पछिल्लो समय सचिवालय तथा स्थायी समिति बैठक बोलाउन प्रचण्डले पटकपटक आग्रह गर्दा पनि ओलीले मानेका छैनन् । स्रोतका अनुसार पार्टी एकीकरणका क्रममा गरिएका थुप्रै निर्णयहरू कार्यान्वयन गर्न, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विस्तृत समीक्षा गर्न, सरकारको काम कारबाहीको समीक्षासहित मन्त्रिपरिषद् फेरबदलका विषयमा आवश्यक गृहकार्य गर्न स्थायी कमिटीको बैठक बोलाउन प्रचण्डले आग्रह गर्दै आएका छन् । सचिवालयका अन्य नेताहरू पनि स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा छन् । गत भदौमा उपचारका लागि विदेश जानुअघि वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भनी गरिएको सहमति कार्यान्वयनका लागि पनि स्थायी कमिटी बोलाउनुपर्ने भएकाले गौतमले समेत बैठकको माग गरिरहेका छन् ।

प्रतिकूल वातावरण देखे तत्कालै जोसुकैसँग जे जस्तो पनि सहमति गर्ने तर, अनुकुल हुनु बित्तिकै सहमति कार्यान्वयनमा बेवास्ता गर्ने ओलीको स्वभाव रहेको भन्दै प्रचण्ड चिढिएका हुन् । विशेष गरी पछिल्लो अन्तर्वार्ताका क्रममा ओलीले सरकार परिवर्तनका विषयमा राखेका अभिव्यक्तिले प्रचण्ड सशंकित बनेका छन् । त्यस्तै सभामुख चयनका क्रममा पूर्वसहमति कार्यान्वयन नहुने सम्भावना बढेबाट पनि प्रचण्ड झस्किएका छन् । गत साउनमै पनि महाधिवेशन नहुँदासम्म ओलीले सरकार र दाहालले पार्टी सञ्चालन गर्ने सहमति भएको थियो । त्यस्तो सहमति कार्यान्वयनमा आउन नसक्दा प्रचण्ड चिढिएका छन् ।

पार्टीका दुई प्रमुख नेताहरूबीचको मनमुटावले लाखौँ कार्यकर्ता र शुभचिन्तक चिन्तित बनेका छन् । चिनियाँ राष्ट्रपतिको भ्रमणपछि मुलुकमा सञ्चार भएको नयाँ आशा तुषारापात हुने खतरा बढेको छ । चिनियाँ राष्ट्रपतिले नेपाललाई महत्वपूर्ण रणनीतिक साझेदारका रूपमा उभ्याउँदै नेपालको विकासमा सबै किसिमले सघाउने प्रतिबद्धता जनाउँदासमेत सरकारको नेतृत्व गरिरहेको नेकपाको आन्तरिक संघर्षका कारण त्यो अवसर गुम्ने खतरा उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्