
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ। चालु अधिवेशनको छैटौँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको हो ।
आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नेकपा एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।
बुधबार बस्ने प्रदेश सभा बैठकमार्फत समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले बताए ।
झन्डै एक महिनापछि आज प्रदेशसभाको बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि गत माघ २० गते बैठक बसेको थियो।