Logo
Logo

झण्डै पार्टी नै चिरापर्ने अवस्था



धेरै काम गर्न सकुँ भनेर काठमाडौँ छोडेर आफूले अन्दाजै नगरेको बिरानो ठाउँमा पढाउन पुगेँ । देशमा भर्खरै प्राइभेट स्कूलहरू च्याउ उम्रेझैँ उम्रिन थालेको त्यो बेला खुलेको एउटा स्कूल थियो त्यो पनि ।

म त्यहाँ पढाउँदै आत्मनिर्भर भएर अर्धभूमिगत रूपमा पार्टीको निम्ति अझै धेरै योगदान दिन सकुँला भन्ने आशा थियो । शुरुमै त्यो आशामा तुषारापात भयो । उल्टै आफू बन्दी हुन पुगेजस्तो पो भयो ।

दिनभरी स्कूलमा काम गर्दा, भर्खरको बच्चाको निम्ति दिनुपर्ने महत्वपूर्ण समय पनि दिन सकिनँ । स्कूलमा पढाउने मात्र हैन, ‘भाइस प्रिन्सिपल’ लगायतका थप जिम्मेवारी पनि बोक्नुपर्यो । अरु काम गर्ने पियन, कर्मचारी कोही नभएको हुँदा मेरो ‘विश्वास’मा स्कूल चलाउने सोच लिएका रहेछन् ।

त्यहाँ पुगेको एक महिनापछि बल्ल मनु मलाई सहयोग गर्नका निम्ति आइपुगिन् । त्यहाँको एक महिना भन्नु मेरो निम्ति एक वर्षभन्दा लामो भैसकेको थियो ।

अलिपछि मात्र थाहा पाएँ, ‘दुईलाइन संघर्ष’ चलिरहेको रहेछ । झण्डै पार्टी नै चिरापर्ने अवस्था आइसकेको रहेछ । एकातिर, सिपी मैनाली र अर्कोतिर ‘मूलधार’ रहेछ । कति त अनुशासनको कारबही सूचीमा परिसकेका रहेछन् ।

कुन उद्देश्य बोकेर त्यहाँ पुगेकी थिएँ, हुने बेला के भइदियो ! पार्टी र देशको कामको कुरा त धेरै टाढाकै भइहाल्यो, बरू आफूले विरोध गर्दै आएको पुँजीवादको सबभन्दा असुन्दर रूपको ताडनामा परियो ।

कुरा उठाउने अवस्था नै थिएन । कोसँग कुरा गर्ने ? जानी नजानी सकी नसकी अगाडि आएको काम बोक्दै समय काट्दै गएँ ।

त्यही भारी बोक्नको निम्ति भनेर आफ्ना सारा कुरा छोडेर जानु त मेरै मूर्खता थियो । वस्तुस्थितिलाई हेर्दै नहेरी सपनामा उडेकी थिएँ । तलब थियो– चारसय । स्कूल आफै घाटामा गईरहेको अवस्थामा सम्हाल्न पुगेको स्कूलबाट अरु आशा गर्न मिल्ने पनि थिएन । त्यही पैसाले आफ्नो बच्चाको आवश्यकता पूरा गर्नुपर्ने मात्र हैन, मनुसमेत पालिनुपथ्र्याे ।

अझ उनका र आफ्नै भूमिगत श्रीमान भेट्न आउँदा पनि त्यसैले भ्याउनुपथ्र्यो । तराईमा तरकारी सस्तै पाइन्थ्यो र पनि मनलागेको तरकारी खानसमेत बजेट मिलाउनुपथ्र्यो । उसिना चामल मात्र पाक्ने भयो भान्छामा ।

मनुको संघर्षशील जीवन र उनको अनुभवले मलाई सारै ठूलो टेवा मिलेको थियो । असाध्य मीठो खाना पाक्थ्यो । बच्चालाई सारै धेरै माया गर्थिन् । उनी आएपछि नै मैले लामो सास फेरेकी थिएँ, अब त कम्तीमा नजिकैबाट बुझ्ने र साथदिने साथी पाएँ भनेर …।

सानो बच्चालाई जस्ले सच्चा माया दिन्छ उही नै आमा । बच्चा मनुसँग मान्थी । त्यो क्षणलाई सम्झदा मनुप्रति जीवनभर नै आभारी छु । बच्चालाई समयमा ख्वाउनुदेखि बच्चा सुतेको बेलामा स्कूलको पनि काम गरिदिने जिम्मा थियो ।

उनी आएपछि भूईंतल्लामै अलि ठूलो कोठा पायौं हामीले । दुईटा खाट अट्ने, एउटामा म र बच्चा सुत्थ्यौँ, अर्कोमा मनु । खाटमुनि भान्छाका सामान हुन्थे । मनुले स्कूलको काम पनि गर्नुपर्ने हुँदा उनलाई सय रुपैया ‘तलब’ भनेर दिन्थे । त्यो पनि केही नहुनुभन्दा कानो मामा निको जस्तो भयो ।

त्यो व्यस्तताकै बीच पनि अलिकति समय पाउनासाथ मलाई लेख्न मन लाग्थ्यो । साथीहरूको म प्रतिको सकारात्मक दृष्टि, विश्वास र सद्भाव सबै कुरा मनमा खेल्न आउथ्यो ।

काठमाडौंमा हुँदा एकछिन सार्थक काम गर्न नपाउँदा बहुलाउने म त्यसरी निरर्थक ढङ्गले समय बिताउने बाध्यतामा परेँ, अचम्म लाग्थ्यो । कुनै सम्पर्क थिएन । नयाँ ठाऊँ, नयाँ गाऊँ ।

म भएपछि ‘प्रिन्सिपल सर’ले समय पाए । बेला बेलामा विदेश यात्रामा पनि जान्थे । उनी आफै पनि राजनीतिक कार्यकर्तामात्र हैन, एउटा तहको नेतासमेत थिए । उनी बेफुर्सदी हुनु अस्वाभाविक थिएन । मलाई झन् झन् लाग्न थाल्यो– मैले पनि स्कूलको काम बाहेक लेखपढमा पनि ध्यानदिनु जरुरी छ ।

लेखन पनि संघर्षको एउटा महत्वपूर्ण रूप हुनसक्थ्यो । महिला आन्दोलनका निम्ति आवश्यक बौद्धिक खुराक पुर्याउन एउटा महिलासम्बन्धि पत्रिका निकाल्न त सकिन्छ नि, भन्ने लाग्यो ।

एकपल्ट आफ्नै मान्छे सरोज मकहाँ आएको बेला छलफल गरें । उनलाई पनि कुरा ठीक लागेछ । उनले यो कामलाई प्रोत्साहन नै दिए । र, काम अगाडि बढोस् भनेर पत्रिकाको परिकल्पना र आवरणको डिजाइनसमेत बनाएर देखाए । लोगो पनि तयार भयो । पत्रिका को नाम पनि उनैले राखिदिए–‘मानवी’ ।

अलिकति हौसला बढ्यो मेरो । उताकै नेता ईश्वर पोखरेलसँग समेत सल्लाह गरेर पत्रिका निकाल्ने निर्णय गरियो । ईश्वर पोखरेल पत्रिकाका बारेमा सकारात्मक भएको मात्र हैन, आफु इण्डिया गएका बेला त्यो छाप पनि बनाएर ल्याइदिने जिम्मासमेत उनैले लिए ।

पत्रिकाबारे छलफल गर्न त्यतैतिर कार्यरत महिला कार्यकर्ताहरुसँग भेट्ने काम पनि भयो । यो क्रममा सुशीला र जया घिमिरेसँग पनि छलफल भयो र महिलाका विशेष समस्याबारे कुरा गर्यौँ । कहिले आफू बसेकै ठाऊँमा, कहिले उनीहरू कार्यरत ठाऊँमा पुगेर कुरा भयो ।

सुशीला उदयपुरमा थिइन्, जया सर्लाहीमा । दूरीको हिसाबले काठमाडौँ भन्दा तिनै साथीहरू नजिक थिए । भेटको बेला ठूलै कुराकानी पनि हुन्थ्यो हाम्रोबीच । उद्देश्य एउटै थियो ।

यस्तो भेटघाटको अर्थ पनि भिन्दै हुन्थ्यो सबैको निम्ति– रिचार्ज भएँ झैं हुन्थ्यो यस्ता कुराकानीले । मेरो निम्ति त निर्जन सुख्खा टापुमा हरियो पलाएको झैं नै उत्साह थपिन्थ्यो ।

तर, त्यो पत्रिका पछि निस्कन भने सकेन । पहिलो अंकका निम्ति आवश्यक सामाग्री पनि जम्मा भइसकेका थिए । तर, पार्टीबाटै रोकियो । कारण सोध्दा थाहा भयो– ‘महिलामुक्ति’लाई प्रमुखताका साथ निरन्तरता दिनु पर्ने हुँदा ‘मानवी’को प्रकाशन रोकिएको रहेछ ।

बीचमा एकपल्ट काठमाडौं पुग्ने मौका पाएँ गर्मीको छुट्टीमा । काठमाडौं फर्किंने कुराले भिन्नै उत्साह बढेको थियो मेरो । सबै मित्रहरूसँग धेरै कुरा गरौंला भन्ने लागेको थियो ।

गर्मी ठाउँबाट ह्वात्त एकैपल्ट काठमाडौं पस्दा शीतलभन्दा पनि माइती गाउँमा पस्दाको न्यानो महसुस होला भन्ने आशा गरेकी थिएँ । तर, साथीभाइ, कामरेडहरू, जो भेटे पनि ‘चीसो’ लाग्ने पो भइरहेको रहेछ ।

मलाई त्यति धेरै उत्साह दिएर पठाउनेहरु बीच पनि पहिलेझैं सद्भावपूर्ण व्यवहार देखिनँ । मनमा अनेक प्रश्न उठ्न थाले । कुनै ठूलै हुरी बतास आएर सबै कुरा उँडाएर लगेजस्तो, जो भेटे पनि खुइय्य गर्ने । कुराकानी गर्ने इच्छानै नभएको जस्तो देखिने…।

अलिपछि मात्र थाहा पाएँ, त्यहाँ त ‘दुईलाइन’को संघर्ष चलिरहेको रहेछ । झण्डै पार्टी नै चिरापर्ने अवस्था आइसकेको रहेछ । एकातिर, सिपी मैनाली र अर्कोतिर ‘मूलधार’ रहेछ ।

खुला राजनीतिमा रहेका धैरै विद्यार्थीहरू सिपीका समर्थक रहेछन् । तीमध्ये कति त अनुशासनको कारबहीमा पर्ने कालोसूचीमा परिसकेका रहेछन् । नमीठो भयो काठमाडौँको यात्रा मेरो निम्ति । म त मरुभूमि जस्तो ठाउँमा बसेको भएर पो सबै सूचनाबाट विमुख भइरहेकी रहिछु !

प्रतिक्रिया दिनुहोस्