
कैलाली । जिल्लाको चुरे गाउँपालिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो। यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन्। तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन्।
परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त हुन्छन्। उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्छन्। कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन्।
कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ। ‘कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैनु, उनले भने, ‘मैलेमात्र महिनाको ? डेढदेखि दुई लाख आम्दानी गर्छु।’ पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उनको भनाइ छ।
सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौंबाट यता आएको सुनाए। सुरुमा ३० लाख उनको फार्ममा लगानी भएको छ। अहिले लगानी ६० लाख पुग्यो। फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन्। ‘दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौँु, विकासले भने, ‘त्यसको प्रतिफल राम्रै छ।’
सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ। ‘नेपालमा मात्र होइन भारतको केरालासमेतबाट माग आउँछ तर पुर्याउन सकेका छैनौँ’, उनले भने।
कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ। त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ। कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ। आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ।
दश वर्षको सम्झौतामा वार्षिक एक लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर सो व्यवसाय सुरु गरिएको हो। साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ। बिक्री पछि अहिले छ सयमात्र कालिज फार्ममा छन्। सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ।
सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो। ‘फार्म हेर्नमात्र धेरै आउँछन्’, उनले भने, ‘ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौँ।’
फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उनको गुनासो छ। ‘कालिज, खुकुरा बिरामी भए आफैँ गएर औषधि ल्याउँछु। चार वर्ष अनुभव भयो’, उनले भने, ‘डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैँ खटिनुपर्छ।’










