Logo
Logo

विकास निर्माणमा सक्रिय जनसहभागिता जरुरी : मन्त्री अर्याल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मालकुमारी अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता जरूरी रहेको बताउनुभएको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडको सत्रौ स्थापना दिवसको सन्दर्भमा आयोजित ‘बचत तथा ऋण सहकारीहरुको संस्थागत विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आज बिहिवार मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

हामी यहीँ बसिरहेकाले परिवर्तनको अनुभूति गर्न नसकेपनि बाहिरबाट आउनेहरूले केही न केही परिवर्तनको अनुभूति गरेको मन्त्री अर्यालले बताउनुभयो । अबको यात्रा भनेको समाजवादउन्मुख यात्रा भएको भन्दै उहाँले त्यसैले अब हरेक क्षेत्रमा समाजवाद उन्मुख कार्यक्रम चाहिने बताउनुभयो ।

मन्त्री अर्यालले सहकारी संस्थाहरु पनि समृद्धिलाई अगाडि बढाउने दिशातर्फ हुनुपर्ने बताउनुभयो । ’तपाइहरूसँग पूँजी र मानवस्रोत पनि प्रशस्त छ । त्यो स्रोतलाई उत्पादनमा, उद्योगमा लगाउनुस’, मन्त्री अर्यालले भन्नुभयो ’सहकारीसँग धेरै सामर्थ्य छ । सामर्थ्य अनुसार काम गर्नुस् ।’

विकासको ठेक्का सरकारको हो भन्ने मानसिकता हामीमाझ रहदासम्म प्रगति गर्न नसकिने भन्दै उहाँले हरेकको विकास निर्माणमा सहभागीता हुनुपर्ने बताउनुभयो । ’सरकारले योजना दिन्छ र केही रकम दिन्छ । त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौं । हामीले रिजल्ट पाउन सक्दैनौं’, उहाँले भन्नुभयो ।

समृद्धिको यात्रा जनस्तरबाट शुरु गर्ने कार्यको थालनी गर्नुपर्ने भन्दै उहाँले विकास निर्माणमा सक्रिय जनसहभागीता हुनुपर्ने बताउनुभयो । सहकारीको ठूलो मेनपावरलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने भन्दै उहाँले सबैभन्दा बढी गरिब भएका स्थानहरु छानेर सहकारीले गरिबी उन्मुलन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अहिले पनि १७.७५ गरिब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरिबी उन्मुलनमा सहकारीको पनि भूमिका हुनुपर्ने बताउनुभयो ।

मन्त्री अर्यालले केही काम गर्नका निम्ती सहकारी तथा नीजि क्षेत्रलाई कानुनमा रहेका बाधा सरकारले फुकाउने बताउनुभयो । सहकारी फार्म, कृषि फार्म, उद्योग खोल्नका निम्ती कानुनमा रहेको समस्यालाई सरकारले फेर्दै गएको उहाँको भनाइ थियो । ’हिजोका विकास विरोधी कानुन परिवर्तन गर्दै विकासमैत्री कानुन सरकारले निर्माण गरेको छ । अझैपनि केही समस्या भएमा हामी त्यसलाई परिवर्तन गर्छौ’, मन्त्री अर्यालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्