Logo
Logo

गल्ती गर्ने कांग्रेस र एमाले, गाली खाने प्रचण्ड ?



विभेद के हो ? अत्याचार के हो ? उत्पीडन के हो ? दुःख के हो ? अभाव के हो ? भोक, प्यास र संघर्ष के हो ? हिंसा के हो ? अशिक्षा र गरिबी के हो ? धोका के हो ? हेपाई के हो ? यी सब शब्द लेख्ने र देख्नेभन्दा भोग्नेलाई बढी थाहा हुन्छ ।

विभेद कति अपमानित हुन्छ, अत्याचार कति पीडादायी हुन्छ, उत्पीडन कति गहिरो हुन्छ, दुःख कति मार्मिक हुन्छ, अभाव कति शक्तिशाली हुन्छ, भोक, प्यास कति मिठो हुन्छ, संघर्ष कति कठोर हुन्छ, हिंसा कति क्रूर हुन्छ, गरिबी कति दयनीय हुन्छ संगोलमा भन्दा अहिले हाम्रो समाज यिनै शब्दका वरिपरि घुमिरहेका छन् ।

तत्कालीन माओवादीहरूले सञ्चालन गरेको जनयुद्धमा कालिकोटतिरका उत्पीडित, महिला, दलितहरू क्रान्तिमा ज्यान फालेर होमिएका थिए । धेरै जनाको मृत्युसमेत भइसकेको सुनिन्थ्यो ।

किन र केका लागि यो ‘जनयुद्ध’ भन्ने कौतुहलता जाग्थ्यो । पछि आएर मात्र थाहा भयो । तर, हामीलाई त्यतिखेर लाग्थो, कथित माथिल्लो जातको दमन, उत्पीडन, विभेद, हेपाहा प्रवृत्ति, जानीजानी छेउ पार्ने तरिका र खासगरी राजतन्त्रको अन्त्य गर्नु नै जनयुद्धको उद्देश्य थियो ।

जे होस्, त्यो समयदेखि गाउँबस्तीका जनता बीचमा रहेर परिर्वतनको लागि बोल्दै, लेख्दै र भोग्दै आएको पात्र हुनुका नाताले समसामयिक राजनीतिप्रति केही प्रश्न र जवाफ गर्न मन लाग्छ ।

साथै, उच्च शिक्षा हासिल गर्ने क्रममा लोकतन्त्र, संसद्वाद, संविधान र समाजवादको बारेमा विषयगत अध्ययन गर्ने अवसर मिलेका कारण पनि हिजोको त्यो संघर्षप्रति झन् मोह जागेर आउँछ ।

जसले जेसुकै भने पनि, विद्यमान परिर्वतन र शासन व्यवस्था स्थापनाका निम्ति विभिन्न समयमा भएका आन्दोलनको महत्वपूर्ण भूमिका छ ।

अहिले जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् । आजका दिनमा सबैभन्दा बढी कोही आलोचित छ भने तिनै प्रचण्ड छन् ।

आखिर सत्य के हो ?
सतहमा आएका सबै कुरा कहाँ सत्य हुन्छन् र ? गत पुसदेखि फागुन १२ गतेसम्म प्रचण्डले बालकोटको अपमान, अनावश्यक दबाब झेलेर पूर्वसहमति भंग गर्नेमा पुगे होलान् ? त्यो प्रचण्डको मनमै होला । कुनै दिन भन्लान् पनि !

प्रचण्ड एमाले अध्यक्ष ओलीसँग झस्किनुको कारण उनले २०७७ पुस ५ गते र २०७८ जेठ ७ गते राति अनाहकमा संसद् विघटन गर्नु नै हो । राजनीतिलाई अन्तै मोड्नका निम्ति आज प्रचण्डलाई गाली गरिन्छ । यो सरासर गलत हो ।

गत पुसमा कांग्रेसले गल्ती गरेपछि प्रचण्ड बालकोट पुगेका थिए । आज बालकोटले गल्ती गर्यो उनी पुनः पुरानो गठबन्धन ब्युँताउन पुगे ।

गल्ती कांग्रेस र एमालेले गर्ने तर, गाली भने प्रचण्डले खाने काम भइरहेको छ । उनले ओली र उनको इशारामा चल्ने दर्शनविना दलहरू र राजावादीहरूसँग मिलेर सत्ताको डोरी चले पनि संविधानको कार्यान्वयन, लोकतन्त्रको रक्षा र विकास नहुने देखेरै प्रतिगामीहरूसँगको साँठगाँठलाई लात हानेका हुन् । त्यो अनिवार्य थियो ।

ओलीको अन्डरमा बसेर, इशारामा चलेर लोकतन्त्रको रक्षा, विकास र समृद्धि सम्भव थिएन । त्यतिमात्रै होइन, हाम्रो देशको अवस्थिति, भू–राजनीति र सामरिक गतिविधिलाई चिर्नु अर्कातर्फ प्रचण्डलाई ठूलो चुनौती पनि थियो । त्यसैले प्रचण्डको निर्णयलाई स्वागत गरिनुपर्छ ।

लोकतन्त्र, संविधान, विकास र समृद्धिको मूल्यमा गठन भएको आठदलीय वाम–लोकतान्त्रिक गठबन्धनको टिकाउपना र यसले गर्ने कार्यहरूमाथि सचेत वर्ग, लोकतन्त्र, परिर्वतन र संविधानप्रति इमानदार वर्ग समुदायले प्रश्न गर्नुपर्छ ।

प्रचण्डले कोर्ष करेक्सन लोकतान्त्रिक व्यवस्थालाई संस्थागत र विकास गर्ने अभिप्रायले गरेको देखिन्छ । ओलीको इशारामा नाच्ने राजावादी र दर्शनबिनाका दलहरूको झुण्ड बोकेर हिँडेर लोकतन्त्रमाथि खतरा निम्तिनेबाहेक अरु केही नहुने देखेरै कोर्ष करेक्सन गरेका हुन् ।

यसलाई फेरि कांग्रेसीहरूले कमजोरीका रूपमा नलिउन् । खासगरी कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले हालको अवस्थाबाट देशलाई माथि उठाउनका निम्ति राष्ट्रिय लक्ष्य तय गरिनुपर्छ । साझा कार्यक्रम तय गरिनुपर्छ । सोही अनुरूप काम गर्नुपर्छ ।

यदि, इमानदारिताका साथ काम नगर्ने हो भने आगामी निर्वाचनमा एमाले बडारिनबाट कसैले रोक्न सक्दैन । सत्ता र भत्तामात्रै भन्ने हो भने राजनीति र व्यवस्थाप्रति अनेकन प्रश्न खडा हुँदै जान्छन् । अन्ततः हामीले जतिसुकै राम्रो भने पनि संविधान, लोकतन्त्र धरापमा पर्छ । प्रतिगामीहरूले यही दिन कुरिरहेका छन् ।

अब राष्ट्र निर्माणमा एकजुट भएर अघि बढ्नुपर्छ । लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनलाई राष्ट्रिय लक्ष्य बनाउनुपर्छ । विकास र समृद्धिको यात्रालाई समाजवादतर्फ जोड्दै लैजानुपर्छ । वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एकता र सहमतिबिना समाजवादको यात्रा सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्