Logo
Logo

नाम्लिङ्गेक-नारिङ्गेकको तयारी : कियाचु काठमाडौद्वारा केःलाङ प्रशिक्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ कातिक । किरात याक्थुङ चुम्लुङ (कियाचु) काठमाडौं जिल्ला शाखाले यस वर्षको बलिहाङ तङ्नाम (तिहार)का लागि रीनाम्लिङ्गेक–नारिङ्गेक (देउसी–भेलो) कार्यक्रमको तयारी गरेको छ । अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेका अनुसार चुम्लुङ काठमाडौंले यो वर्ष ११ कातिक अर्थात लक्ष्मीपुजाको दिन लिम्बू परम्पराअनु्सार देउसी–भैलोको आयोजना गर्दैछ ।

‘यस वर्षको बलिहाङ तङ्नामका लागि देउसी–भेलो कार्यक्रमका लागि सबै तयारी पूरा भएको छ’ अध्यक्ष तुम्बाहाम्फेले भने, ‘त्यसका लागि कलाकारलाई केःलाङ (च्याब्रुङ नाच)को समेत प्रशिक्षण दिएका छौँ ।’ उनले उपत्यकामा तीन टोली बनाएर लारिङ्गेक नाम्लिङ्गेक खेल्ने तयारी गरेको बताए ।


लारिङ्गेक नाम्लिङ्गेकका लागि कलाकारलाई बौद्धमान हुक्पा चोङ्बाङले केःलाङको प्रशिक्षण दिएका छन् । चारदिने केःलाङ प्रशिक्षणमा ३० जना भन्दा बढी लिम्बू सुमदायका युवायुवती तथा कलाकार सहभागी रहेको केःलाङ प्रशिक्षक चोङ्बाङले बताए ।
कियाचु काठमाडौंले आयोजना गरेको केःलाङ प्रशिक्षणको संयोजन कियाचु केन्द्रिय सदस्य तथा द हाइल्याण्ड आर्टकी प्रोपाइटर कल्पना योङहाङ लिम्बूले गरेकी थिइन् । केःलाङ प्रशिक्षणमा सहभागी युवायुवती एवंं कलाकारहरु द हाइल्याण्ड आर्ट र कल्पना ढाका बुटिकले तयार गरेको ढाका पहिरनमा प्रस्तुत भएका थिए ।


लिम्बू समुदायले तिहार (बलिहाङ तङ्नाम)लाई विशेष सांस्कृतिक तथा ऐतिहासिक पर्वका रुपमा लिने गरेको छ । लिम्बू समुदायले देउसी–भैलो आफ्नै भाषा, संस्कृति र भेषभूषामा खल्ने गरेका छन् । त्यसमा केःलाङ (च्याब्रुङ नाच) विशेष हुनेगर्छ । त्यसैले पनि बलिहाङ तङ्नाम अर्थात लारिङ्गेक नाम्लिङगेकको अवसरमा केःलाङ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अध्यक्ष तुम्बाहाम्फेले बताए । उनले आगामी दिन अरु समयमा पनि लिम्बू संस्कृतिको जर्गेना र संरक्षणका लागि केःलाङ प्रशिक्षण दिइने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्