Logo
Logo

लाखौँ रुपैयाँसहित एकसय तीन जना जुवाको खालबाट पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १२ कात्तिक । देशका विभिन्न भागमा गैरकानूनी रूपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

सोमबार बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ । यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट १७ जनासहित रु दुई लाख ८२ हजार र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् । उनीहरूबाट रु दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार खिचिएको छ । दाङको लमही नगरपालिका–५ हिजो बिहान पक्राउ गरिएका आठ जनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित नगद रु छ लाख ७८ हजार बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्