Logo
Logo

भोक, रोग, शोक नै लोकतन्त्रका निम्ति खतरा



भनिन्छ, लोकतन्त्रबारे जति नै लेखे पनि कम हुन्छ । मतलव लोकतन्त्रका बारेमा आजसम्म धेरै लेखियो । धेरै बोलियो तर, पनि लोकतन्त्रका बारेमा लेख्ने र बोल्ने काम कम भएको छैन ।

समाजमा झन्झन् लोकतन्त्रको उपादेयिता बढिरहेको छ । विश्वका धेरै देशमा लोकतन्त्र संस्थागत भएको छैन । विश्वका कतिपय देशका नागरिकहरूले लोकतन्त्रको प्रत्याभूति गर्न पाएका छैनन् ।

सन् १९७५ पछि लोकतन्त्रको तेस्रो लहर चरिहेको छ । यसका बीचमा विश्वका धेरै देशहरूमा लोकतन्त्र खोसियो । म्यानमारमा सेनाले शासन चलाइरहेको छ । अफगानस्तान, युक्रेन, पास्किस्तान, सोमालियालगायत देशको लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ ।

लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न किन उठ्छ ? यसको सरल जवाफ हो, लोकतन्त्रका नाममा उदाएका मै हुँ भन्ने नेताको घमण्ड, हठ, भ्रष्ट कार्यशैली, सत्तामा टिक्ने महत्वाकांक्षा, कुशासन आदिका कारण लोकतन्त्र कमजोर बनेको हो ।

पछिल्लो समय नेपालको लोकतन्त्रमाथि पनि प्रश्न उठाउन थालिएको छ । जनताबाट पराजित शक्तिहरूले पुनःसत्ता प्राप्तिका निम्ति दलहरूलाई अयोग्यताको विल्ला भिराएर लोकतन्त्रमाथि प्रहार गरिरहेका छन् ।

योजनाबद्ध रूपमा जनताको दिमागमा निराशा भर्ने, आत्मविश्वासलाई भत्काउने, देशमा भविष्य छैन भन्ने, राजनीतिक दल र सरकारप्रति वितृष्णा जन्माउनेहरूदेखि सावधान र सचेत बन्नुपर्छ । गरिबीको अन्त्य नभएसम्म लोकतन्त्र र राष्ट्रियता बलियो बन्दैन ।

अतिवादी र अराजकतावादीहरूको निशानामा लोकतन्त्र जहिले पनि परिरहेकै हुन्छ । लोकतन्त्र राजनीतिक रूपमा मात्रै खतरामा पर्दैन । आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरूबाट पनि लोकतन्त्रमाथि खतरा पैदा भइरहेको हुन्छ ।

त्यस्तै अशिक्षा, ब्याप्त गरिबी, बेरोजगारीले मानिसको मनबाट लोकतन्त्र र राजनीतिप्रतिको विश्वास र भरोसाको हत्या गरिदिन्छ । जब लोकतन्त्र कमजोर बन्छ, त्यो बेला आशा र भरोशा मर्छ ।

जनताबाट पराजित शक्ति, यथास्थितिवादी, प्रतिगामी, जडसुत्रवादी मात्रै नभएर दलाल, बिचौलिया, घुसखोर, अतिवाद र उग्रवादलेसमेत आफ्नो स्वार्थका लागि लोकतन्त्रमाथि प्रहार गर्न थाल्छ ।

लोकतन्त्र कमजोर बनेको बेला मानिसहरूले जीवनप्रति घृणा गर्न थाल्छन् । व्यवस्थामाथि शंका गर्छन् । राज्यप्रति आक्रोशित बन्छन् । नेता र नेतृत्वमाथि औला उठाउछन् । गुनासाका स्वर ठूलो आवाजमा सुनिन थाल्छन् ।

लोकतन्त्रका विरोधितत्वहरूले सुनियोजित रूपमा जनताका दिमागमा निराशा र असन्तुष्टिहरू हालि दिन्छन् । जनतालाई कन्फ्युजनमा राखेर गुमेको साखफिर्ता ल्याउने प्रयास गर्छन् । लोकतन्त्र खोस्नका निम्ति यस्ता अनेक प्रयासहरू हुन्छन् ।

अहिले नेपालमा ठीक यस्तै भइरहेको छ । एउटा मेडिकल सञ्चालकले अतिवादी अभियान चलाइरहेका छन् । उनले वर्तमान राजनीतिक दल र नेतृत्वले जनतालाई केही दिन नसकेको, राष्ट्र डुवाउन थालेको तथा नेताहरू असफल बनिसकेको भनेर जनतामा निराशा बाढिरहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई साक्षी राखेर हिन्दू धर्म र राजतन्त्र ब्युँताउने घोषणा गरेका छन् । पूर्वराजा पनि दुर्गा प्रसाईँजस्ता ठगहरुबाट हौसिएर दलहरुसँग सहकार्यको प्रस्ताव गरेका छन् । गणतन्त्र स्थापनापछि नागरिक जीवन बिताएका पूर्वराजालाई दलहरुसँग सहकार्यको के आवश्यकता पर्याे ? उनको यस्तो अभिव्यक्तिबाट पनि जनता भ्रमित हुँदै गएका छन् ।

उनीहरुमात्रै होइन, लोकतन्त्र मान्छौं भन्ने तर, पपुलारिजमको आडमा अतिवादी समूह पनि लोकतन्त्रलाई सुनियोजित रूपमा कमजोर बनाउन लागि परिरहेको देखिन्छन् । बिचौलियाहरूले देशमा केही अवसर छैन भनेर प्रचार गरेरिहेका छन् । म्यानपावर र कन्सल्टेन्सी थापेर खोजी खोजी योग्य युवालाई विदेश पठाइरहेका छन् ।

दलाल र बिचौलियाहरूले युवा बेचेर सहरमा घर बनाएका छन् । उनीहरूको लोभलाग्दो जीवनशैली देखिन्छ । उनीहरूले राज्य र सरकारलाई समेत प्रभावित बनाइरहेको देखिन्छ । राज्यलाई तिर्नुपर्ने राजश्व छल्ने काम तीव्र छ ।

यसो किन भइरहेको छ ?
हाम्रो सामु ब्याप्त गरिबी छ । बेरोजगारी छ । आकाश छुने महंगी छ । अभाव र विकृतिहरू छन् । बैंक, सहकारी र लघुवित्तहरूको चर्को ब्याजदरले गम्भीर प्रश्न खडा गरेको छ । यही अवस्थामा सामान्य नागरिकलाई उचालेर केही अराजक गतिविधि मच्चाउने काम भइरहेका छन् ।

ज्ञानलाई विज्ञानसँग जोडेर हेर्ने दृष्टिकोण छैन । अन्धभक्ति पना व्याप्त छ । सतही कुराहरूको पछि लागेर सत्यलाई ढाकछोप गर्नेकाम भइरहेको छ । सचेत मानिसहरूले भ्रमलाई चिर्नुपर्छ ।

गरिबी, अशिक्षा, अन्धविश्वासलाई हटाउन लागि पर्नुपर्छ । समाजमा रहेका ब्याप्त विभेदहरूको अन्त्य गर्नु आजको चुनौती हो । ढुङ्गालाई देउता ठानेर पूजा गरिन्छ । तर, दलितलाई मान्छे नठान्ने हाम्रो प्रवृत्ति छ ।

यस्ता आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रूपान्तरणको अभियान सुरु गर्नुपर्ने बेलामा उल्टै पश्चगामी र उनीहरूका मतियारहरू संघीय लोकतन्त्रिक व्यवस्था र समाजवादी संविधानप्रति वितृष्णा जगाएर भ्रमको खेती गरिरहेका छन् । जुन क्रियाकलाप लोकतन्त्रका निम्ति दुःखद छन् ।

एउटा सत्य के हो भने, मुलुकमा स्थिर राजनीति र विकासका कामहरूमा प्रयाप्त सफलता हासिल गर्न सकिएको छैन । संविधान जारी भएको जम्मा ७ वर्ष भयो । तर, यहाँ नेपाललाई विकसित देशसँग तुलना गरेर जनतामा निराशा बाढ्ने काम भइरहेको छ । जनताहरू राष्ट्र निर्माणको अभियानमा सहभागि नै भएका छैनन् ।

सारा युवा बिदेशमा छन् । राज्यले शान्ति, विकास, सुशासन, समृद्धि र समाजवादलाई राष्ट्रिय कार्यक्रम बनाउन सकेको छैन । जनता कसरी खुशी हुन्छन् ? गरिबी हटाउनका निम्ति मुलुकमा उत्पादन बढाउनुपर्छ ।

जनताको दिमागमा भरिएको निराशालाई हटाउन भ्रमलाई चिर्नुपर्छ । देशमै केही गर्न सकिन्छ, देशमा गरे के हुन्न ? अथाह सम्भावना बाकेको देशलाई शून्यता लगेर छाडिदिने छुट कसैलाई छैन । आशा जगाउनु आजको आवश्यकता हो ।

मानिसहरूले आफ्ना न्युनतम आवश्यकता र चाहाना पूर्ति गर्ने अवसर खोजि रहेका छन् । सरकारले त्यतातिर ध्यान दिनुपर्छ । सरकारले मानिसमा आशा र भरोसा निर्माण गर्न सक्नुपर्छ । बाटो, विजुली, खानेपानी, स्वास्थ्य र शिक्षाका सन्दर्भमा ठूला योजनाहरू ऋणमै स्थापना गर्न सकिन्छन् ।

तर, जनताको मनमा आशाको दियो बाल्नका लागि, मान्छेलाई असल मान्छे बनाउनका निम्ति सरकारले जनताले अनुभूत गर्ने गरी सकारात्मक कामहरू अघि सार्नुपर्छ ।

निराश जनतालाई भरोसा दिनुपर्छ । राज्यको निकायमा पुगेकाहरू पारदर्शी बन्नुपर्छ । मान्छेहरूको दिमागमा नयाँसोच, नयाँ विचार भर्नका निम्ति राज्यका सार्वजनिक संस्थानहरू पारदर्शी बन्नुपर्छ ।

योजनाबद्ध रूपमा जनताको दिमागमा निराशा भर्ने, आत्मविश्वासलाई भत्काउने, देशमा भविष्य छैन भन्ने, राजनीतिक दल र सरकारप्रति वितृष्णा जन्माउनेहरूदेखि सावधान र सचेत बन्नुपर्छ । गरिबीको अन्त्य नभएसम्म लोकतन्त्र र राष्ट्रियता बलियो बन्दैन ।

उत्पादन र रोजगारी सिर्जना नगरिकन लोकतन्त्र बलियो बन्दैन । हो समस्या छन्, विद्यमान समयमा जुन खालका समस्या देखिएका छन्, यि समाधानरहित छैनन् । समाधान गर्न सकिन्छन् । दल र कार्यकर्ताहरूमा प्रश्न गर्ने चेतनाको कमी देखिन्छ । प्रश्न गर्नु मानिसको इमान्दार प्रयास हो । प्रश्न गर्नु भनेको विरोध गर्नु होइन ।

समाज रूपान्तरणको अभियान अत्यन्तै सुस्त छ । यतातिर ध्यान दिन जरुरी छ । हाम्रो छोरी जन्मिदा गुमनाम बस्छ । छोरा जन्मिदा धुमधाम गर्छ । किन ? समाज यो अन्तरविरोधमा कहिल्यसम्म बाँच्छ ? आमाहरूले कसैलाई छुत र अछुत जन्म दिँदैनन् । धर्म जान्नेले विज्ञानलाई किन जान्दैन ? ढुङ्गालाई देउता ठान्नेले दलितलाई मान्छे ठान्न किन सक्दैन ? यस्ता अन्तरविरोधहरूको अन्त्य आजको आवश्यकता हो ।

२१औँ शताब्दीमा निर्विकल्प लोकतान्त्रिक शासन व्यवस्थालाई फालेर एकात्मक राज्य व्यवस्था चाहिन्छ भन्दै किन भ्रम र्सिजना गरिँदैछ ? सुनियोजित ढंगले जनतामा निराशा किन भरिदैछ ? अब क्रान्तिकारी जनसमुदायले सचेत हुने बेला आयो । लोकतन्त्रलाई यहाँभन्दा कमजोर बन्न दिनुहुन्न ।

सरकारी संयन्त्रहरु, सार्वजनिक संस्थानहरु, सेना, प्रहरी, कर्मचारी, राजनीतिक दलका नेता कार्यकताहरु सबैले लोकतन्काप्रति इमान्दार बन्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्